विराटनगर महानगरले रेडियो सञ्चालन गर्दै

विराटनगर । विराटनगर महानगरपालिकाले तारणीप्रसाद सञ्चार ग्राममा सिटी एफएम सञ्चालन गर्ने तयारी गरेको छ । महानगरले भोली ल्याउन लागेको नीति तथा कार्यक्रम र बजेटमा एफएम सञ्चालन गर्ने नीतिगत व्यवस्था गरेको हो ।

महानगरको बोर्ड बैठकले एफएम सञ्चालनका लागि निर्णय गरेको छ । तर उक्त निर्णयमा महानगर उपप्रमुख इन्दिरा कार्कीले असहमति जनाउनुभएको छ । उहाँले स्रोत अभाव भएको बेलामा एफएमका लागि बजेट विनियोजन गर्नु उचित नभएको भन्दै असहमति जनाउनु भएको हो ।

नीति तथा कार्यक्रममा एफएम सञ्चालन गर्ने व्यवस्था गरे पनि त्यसका लागि बजेट भने विनियोजन गरी नसकेको स्रोतले जनाएको छ । बोर्ड बैठकले एफएम सञ्चालन गर्न लाग्ने लागत लगायतको समग्र पक्षको अध्ययन गर्नका लागि विराटनगरको वडा ४ का अध्यक्ष देवेन्द्रराज पोखरेलको नेतृत्वमा वडा अध्यक्षहरु सम्मिलित एक अध्ययन समिति समेत गठन गरेको छ । उक्त समितिले दिएको प्रतिवेदनको आधारमा पछि बजेट व्यवस्था गर्ने निर्णय गरेको छ ।

एफएम सञ्चालन गरेर महानगर प्रमुख भीम पराजुलीले आफ्ना समर्थक केही व्यक्तिलाई जागिर खुवाउने योजना बनाएको महानगर स्रोतले जनाएको छ । प्रमुख पराजुलीले विराटनगरमा सञ्चालित एक एफएम सेटिङ्गमा खरिद गरेर सञ्चालन गर्ने योजना बनाएको एक वडा अध्यक्षले बताउनुभयो ।

तर नेपाल पत्रकार महासंघले सरकारहरुले सञ्चारमाध्यम सञ्चालन गर्ने विषयमा आपत्ति जनाउँदै आएको छ । यसअघि वागमति प्रदेशले सञ्चारमाध्यम सञ्चालन गर्न २०७८÷०७९ को बजेटमा बजेट विनियोजन गरेपछि महासंघले बिरोध जनाइसकेको छ । महासंघले विज्ञप्ती जारी गरी वागमति प्रदेशलाई उक्त निर्णय फिर्ता लिन माग गरेको छ ।

सरकारी स्वामित्वमा सञ्चालित सञ्चारमाध्यमहरुलाई स्वायत्त बनाउने माग उठिरहेको बेला सरकारहरुले आफै सञ्चारमाध्यम सञ्चालन गर्ने गरेको निर्णय आपत्तिजनक भएको महासंघले जारी गरेको विप्तीमा उल्लेख छ ।

वागमति प्रदेश सरकार आफैंले सञ्चारमाध्यम सञ्चालन गर्दा यसले नागरिकको विचारलाई नियन्त्रण गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने एवं स्वतन्त्र पत्रकारिताको मान्यता र भावनाविरुद्ध हुने महासंघको ठहर छ ।

लोकतन्त्रको मूल्य मान्यताको उपहास हुनेगरी बागमती प्रदेश सरकारले गरेको यो निणर्यले नीजि र सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई धरासायी बनाउने, स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने उद्देश्य रहेको विज्ञप्तीमा उल्लेख छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने र नियन्त्रित सूचना सम्प्रेषण गर्नेगरी सञ्चारमाध्यम सञ्चालनका लागि बजेट विनियोजन गरिएकोमा महासंघले वागमति प्रदेश सरकारको भर्त्सना गर्दै आपत्ति जनाइसकेको छ । वागमति प्रदेशले निर्णय फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिइरहेको बेला विराटनगर महानगरले एफएम खोल्ने निर्णय गरेको छ ।

महानगरले पनि नियन्त्रित सूचना सम्प्रेषण गर्ने उद्देश्यले सञ्चारमाध्यम सञ्चालन गर्न लागेको हो ।

Back to top button