मोरङका स्थानीय तहहरुले आउँदो आर्थिक वर्षका लागि ल्यायो बजेट

विराटनगर । मोरङका स्थानीय तहहरुले आज आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गरेका छन् ।

रंगेली नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि ७१ करोड ७८ लाख ४५ हजार ९२२ रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरेको छ । नगर उपप्रमुख केशवकुमारी खरालले कृषि तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ४९ करोड ५८ लाख ११ हजार र पूँजिगतमा २२ करोड २० लाख ३४ हजार ९२२ रुपैयाँ विनियोजन गरेको छ ।

बजेटको स्रोततर्फ संघीय सरकारबाट ५५ करोड ७० लाख ६१ हजार, प्रदेश सरकारबाट १ करोड ७० लाख ७३ हजार, आन्तरिक स्रोतबाट ३ करोड १५ लाख १५ हजार र बाँकी अपुग रकम चालु आर्थिक वर्षको नगद मौजदात रहने अनुमान गरेको छ ।

यस्तै, सुनवर्षी नगरपालिकाले आउँदो वर्षका लागि ५८ करोड ५३ लाख ७३ हजारको बजेट नगरसभामा प्रस्तुत गरेको छ । नगर उपप्रमुख मन्जुकुमारी राईले कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार क्षेत्रलाई प्रथमितकतामा राखेर प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ३० करोड ९३ लाख ७० हजार र पूँजिगततर्फ २७ करोड ६० लाख ३ हजार विनियोजन गरेको छ ।

बजेटको स्रोततर्फ संघीय सरकारबाट ४९ करोड ३७ लाख ५२ हजार, प्रदेश सरकारबाट २ करोड ९३ लाख ४७ हजार १ सय ३० रुपैयाँ र बाँकी आन्तरिक स्रोतबाट अनुमान गरेको छ ।

जहदा गाउँपालिकाले आउँदो आर्थिक वर्षका लागि ४७ करोड ७५ लाख १० हजारको बजेट गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष शालो साहले कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर प्रस्तुत गर्नुभएको बजेटमा चालु खर्चतर्फ ७ करोड ८५ लाख र पूँजिगततर्फ ३९ करोड ९० लाख १० हजार विनियोजन गरेको छ ।

बजेटको स्रोततर्फ संघीय सरकारबाट २२ करोड ३४ लाख, प्रदेश सरकारबाट १ करोड २३ लाख, आन्तरिक स्रोतबाट ७५ लाख र चालु आबको नगद मौजदात र संघसंस्थाबाट ४ करोड १८ लाख अनुमान गरेको छ ।

कटहरी गाउँपालिकाले आउँदो आर्थिक वर्षका लागि ४४ करोड ९९ लाख ३२ हजार ६ सय रुपैयाँको अनुमानित बजेट गाउँसभामा प्रस्तुत गरेको छ ।

गाउँपालिका उपप्रमुख मन्जिताकुमारी सरदारले स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर प्रस्तुत गर्नुभएको बजेटमा चालु खर्चतर्फ २१ करोड ५४ लाख ६८ हजार ६ सय र पूँजिगततर्फ २३ करोड ४४ लाख ६४ हजार विनियोजन गरेको छ ।

बजेटको स्रोततर्फ आन्तरिक स्रोतबाट २ करोड ६५ लाख, संघीय सरकारबाट ३८ करोड ९० लाख ६४ हजार, प्रदेश सरकारबाट २ करोड ४३ लाख ६८ हजार ६ सय र चालु आर्थिक वर्षको नगद मौजदात १ करोड अनुमान गरिएको छ ।

Back to top button