असार १७ देखि आन्तरीक उडान शुरु हुने, भाडा बढाउने तयारीमा सञ्चालक

काठमाडौं । असार १७ गतेदेखि आन्तरिक उडान शुरु हुने भएको छ । निजी वायुसेवा सञ्‍चालक संघले भाडादर बढाएर असार १७ देखि आन्तरिक उडान सञ्चालन गर्ने तयारी गरेको हो ।

हवाई इन्धनको मूल्य बढेकाले मूल्य समायोजन गरी उडान शुरु गरिने संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिनुभएको छ । जहाजको पूरै सिटमा यात्रु राखेर उडान भरिने भएको छ।

संघले मूल्य समायोजन गर्ने तयारी गरेपनि मन्त्रालयमा भने यस विषयको प्रस्ताव गएको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नागरिक उड्डयन तथा हवाई महाशाखाका सह–सचिव बुद्धिसागर लामिछानेका अनुशार अहिलेसम्म त्यस्तो प्रस्ताव गएको छैन । मूल्य समायोजन कार्यान्वयन गर्न सरकारको सहमति आवश्यक पर्छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि सरकारले वैशाख २३ गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो। जनस्वास्थ्यका मापदण्ड अपनाएर असार १७ गतेबाट आन्तरिक उडान सञ्चालन गर्न दिने सरकारले यसअघि नै निर्णय गरेको छ।

नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलायन्स, यति एयरलायन्स, सौर्य एयरलायन्स, सीता एयर, तार एयर र समिट एयरलाई उडान तालिका पेश गर्न पनि अनुरोध गरिसकेको छ।

Back to top button