मोरङमा खुकुलो पार्दै थप एक साता निषेधाज्ञा लम्बियो

निजी र तीन पाङ्ग्रे भाडाका गाडी चल्ने

विराटनगर । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले थप खुकुलो पार्दै एक साता निषेधाज्ञा लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जिल्लाभरि असार १५ गतेदेखि २१ गतेसम्मका लागि नवौं पटक निषेधाज्ञा अवधी थप गर्नु भएको हो ।

जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले यस पटक निषेधाज्ञा अवधिभरि सबै किसिमका पसलहरु बिहान ५ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न दिने गरी खुकुलो पार्ने निर्णय गरिएको प्रजिअ निरौलाले बताउनुभयो ।

निषेधाज्ञा अवधीभर भाडाका टेम्पु, ट्याक्सी, ३ पाङ्ग्रे सिटी सफारी, ई–रिक्सा र निजी मोटरसाइकल तथा अन्य चार पाङ्ग्रे सवारी साधन जोर बिजोर नम्बरको आधारमा सञ्चालन गर्न दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

उहाँले सार्वजनिक यातायातका साधन, शैक्षिक संस्था, सैलुन, ब्यूटी पार्लर, जिमलगायतका खेलकुद, गुद्री, साप्ताहिक हाटबजार सञ्चालन गर्न नपाउने बताउनुभयो । अहिले अस्पतालहरुमा कोरोना संक्रमितको संख्या घटेकोले पसलहरु सञ्चालनमा केही खुकुलो पारिएको तर संक्रमणको जोखिम यथावतै रहेकोले स्वास्थ्य सुरक्षा मापदण्ड सबैलाई अपनाउन प्रजिअ निरौलाले आग्रह गर्नुभयो ।

मोरङ प्रशासनले सरकारले कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप कडाइ गर्ने जनाएको छ । निषेधाज्ञा उलंघन गर्ने, अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्था अनुसार कारवाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ निरौलाले बताउनुभयो ।

अध्यादेशमा कोरोना नियन्त्रण, रोकथाम र निदानमा अबरोध गर्नेलाई १ वर्ष कैद वा ५ लाख जरिवाना वा दुबै सजाय गर्ने प्रजिअलाई अधिकार दिएको छ । कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक बैशाख १८ गते राती १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।

Back to top button