मनसुन सुरु भएको १८ दिनमा ३२ जनाको मृत्यु, २९ वेपत्ता

काठमाडौं । नेपालमा यस वर्ष मनसुन सुरु भएदेखि आएको बाढीपहिरोले ३२ जनाको मृत्यु, २९ जना वेपत्ता र २७ जना घाइते हुनुभएको छ ।

लगातारको अविरल वर्षाले हालसम्ममा बाढीपहिरोले १६१ परिवार प्रभावित हुँदा २ करोड ४६ लाख बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।

गत वर्ष यही अवधिमा बाढीपहिरोले २३ जनाको मृत्यु, १८ जना घाइते हुँदा ६७ परिवार प्रभावित भएर ७५ लाख २७ हजारको मात्रै क्षति भएको थियो । गत वर्षको तुलनामा यस वर्ष मनसुनको सुरुवातमा नै बाढीपहिरोले अत्यधिक क्षति पुर्‍याएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनी वर्षाले तराई क्षेत्रका २३ जिल्लाका १७ लाख जनसंख्या बाढी र पहाडी तथा हिमाली २६ जिल्लाका १ लाख २० हजार जनसंख्या पहिरोबाट प्रभावित हुने अनुमान गरेको छ । त्यसै अनुसार विपदको पूर्व तयारीका लागि उपप्रधान तथा गृह मन्त्री विष्णुप्रसाद पौठेलले हिजो निर्देशन दिएको छ ।

Back to top button