सर्वोच्चको फैसलाअघि हस्ताक्षर फिर्ता नलिने एमालेका नेता हुदैनन् : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमालेका निवर्तमान सांसदहरु पार्टीमा नरहने बताउनुभएको छ ।

बालुवाटारमा आज बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर ज–जसको कायम रहन्छ, ती पार्टी कार्यकर्ता हुन नसक्ने बताउनुभएको हो ।

पार्टीको विचार, संगठन, एकताको पक्षमा उभिनेहरु मात्र नेता हुने भन्दै उहाँले पार्टीलाई ढाल्ने उद्देश्यमा सक्रिय ब्यक्ति पार्टीको नेता हुन नसक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले अदालतको निर्णय जे आए पनि त्यसको भोलिपल्ट केन्द्रीय कमिटीको बैठक बसेर निर्णय गरिने बताए ।

‘बाटो बिराएर अलमल भएकाहरु अदालतको निर्णयअघि पार्टीमा आउनुपर्छ’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अदालतको निर्णय जे आएपनि त्यसको भोलिपल्टै केन्द्रीय कमिटीको बैठक बसेर बाँकी निर्णय गरेर अघि बढ्नुपर्छ ।’

आइतबार साँझसम्म हस्ताक्षर फिर्ता नभए कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरु एमालेमा नरहेको स्वतःसिद्ध हुने प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताउनुभयो ।

यता वरिष्ठ नेता माधव नेपालले हस्ताक्षरकर्ता सांसदहरुसँग आज नै छलफल गर्नुभएको छ । हस्ताक्षरकर्ता नेपाल निकट सांसदहरुले हस्ताक्षर फिर्ता लिनु आत्महत्या सरह हुने भन्दै केपी ओलीसँग मिल्न नसकिने बताइसकेका छन् ।

यद्यपी माधव नेपाल पक्षधर वार्ताकार नेताहरुले भने अझै एकताको सम्भावना बाँकी रहेको बताएका छन् ।

Back to top button