आवश्कताका आधारमा माग भएर आएको क्षेत्रमा बजेट अभाव हुन दिदिनँ : मन्त्री राई

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशसभामा सांसदहरुले उठाउनु भएको सबै प्रश्न जायज रहेको र यसप्रति आफ्नो पनि समर्थन रहेको बताउनुभयो ।

प्रदेशसभामा बुधबार आर्थिक वर्ष २०७८/७९ को बजेटको सामाजिक विकास क्षत्रको विषयगत छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री राईले आफ्नो मन्त्रालयअन्तर्ग आवश्यकताका आधारमा माग भएर आएका कुनैपनि क्षेत्रमा बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

‘कोरोना महामारीले प्रदेशको बजेट घटेर आएको अवस्थामा २ अर्ब ८८ करोडको बजेट सिलिङमध्ये १ अर्ब २० करोड अनिवार्य दायित्वमा र १ अर्ब ६८ करोड मात्रै विभिन्न शिर्षकमा विनियोजन गर्न भनिएकोले सबै क्षेत्रमा बजेट कम भएको छ,’ उहाँले भन्नुभयो, ‘तर प्रदेशवासीलाई कोरोना महामारीबाट जोगाउन १ अर्ब बजेट विनियोजन गरेको छु ।’

उहाँले हिमाली तथा पहाडी जिल्लाका पैसा हुनेले हेलिकप्टरमा काठमाडौं गएर उपचार गराउने र पैसा नहुनेले एम्बुलेन्समा आउँदा आउँदै ज्यान गुमाउनुपर्ने अवस्थामा परिवर्तन ल्याउन बजेट विनियोजन गरेको बताउनुभयो ।

‘यस प्रदेशका प्रत्येक जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न र सुव्यवस्थित बनाउने गरी बजेट विनियोजन गरेको छु,’ उहाँले भन्नुभयो, ‘प्रत्येक जिल्ला अस्पतालमा आईसियू, एचडियु, भेन्टिलेटरको व्यवस्था गरी त्यसै अनुसारको जनशक्तिसमेत व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छु ।’ प्रत्येक जिल्ला अस्पतालमा दुई जना विशेषज्ञ चिकित्सकसहितका ८ देखि १० जना स्वास्थ्यकर्मी जनशक्ती थप हुने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

चिकित्सकहरु हिमाली तथा पहाडी जिल्लामा बस्नै नमान्ने अवस्थामा परिवर्तन ल्याउन हिमाली जिल्लामा तीन सय, पहाडी जिल्लामा अढाई सय र तराईका जिल्लामा दुई सय प्रतिशत भत्ताको व्यवस्था गरेको मन्त्री राईले बताउनुभयो ।

‘हुनेले महंगो अस्पतालमा पनि उपचार गराइरहेको तर पैसा नहुनेले उपचार अभावमै मृत्यु वरण नगरोस भनेर गरिव, विपन्नका लागि स्वास्थ्य कार्यक्रम ल्याएको छु,’ उहाँले भन्नुभयो, ‘गरिव, विपन्नको स्वास्थ्य कार्यक्रमअन्तर्गत उपचार कोषको व्यवस्था गरेको छु ।’

उपचार कोषमा प्रदेशवासीलाई आ–आफ्ना सामथ्र्य अनुसार योगदान गर्न मन्त्री राईले आह्वान् गर्नुभयो । ‘उपचार कोषका लागि अहिले ३० लाख बजेट विनियोजन गरेको र यसमा १० रुपैयाँ योगदान गर्नेको पनि नाम सार्वजनिक हुने एप्सको विकास गरेर प्रदेशभरिका गरिव, विपन्नको निःशुल्क उपचारको व्यवस्था गरेको छु,’ उहाँले भन्नुभयो, ‘गरिवका लागि स्वास्थ्य कार्यक्रम सफल भए प्रदेशभरिका प्रत्येक नागरिकको निःशुल्क उपचार यही कार्यक्रम अन्तर्गत गर्न सकिन्छ ।’

कोभिड १९ बाट प्रभावित शिक्षा क्षेत्रका लागि अहिले एकमुष्ट बजेट राखिएको र आवश्यकताका आधारमा माग भएर आएका सबै क्षेत्रका लागि सांसदहरुको राय परामर्शका आधारमा विनियोजन गर्ने मन्त्री राईले प्रतिबद्धता जनाउनुभयो । पछाडिपरेका साथै वर्गीय विभेदमा परेका समुदायलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उहाँको भनाइ थियो ।

जीवनमा ढुंगा मात्रै प्रहार भएका, अपमान र घृणा सहेर जीवन बिताएकी तर सम्मानको एक बचन पनि सुन्न नपाएकी १ सय ३७ वटै पालिकाका आमाहरुका लागि राष्ट्रपति आमा सम्मान कार्यक्रम ल्याएको उहाँले प्रष्ट पार्नुभयो । संस्कार, संस्कृतिसँग जोडिएका, अर्थोपार्जनसँग जोडिएका विषयहरु ब्याण्ड भएको अवस्थामा परिवर्तन ल्याई त्यसलाई ब्राण्ड बनाएर प्रदेशलाई समृद्ध बनाउनुको विकल्प नभएको उहाँको भनाई थियो ।

विषयगत छलफलमा सांसदहरुले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा बजेट कम भएको, कोरोना महामारीबाट सबभन्दा बढी प्रभावित शिक्षा क्षेत्रमा बजेट प्रयाप्त नभएको, ब्याण्ड भर्सेज ब्राण्ड, दलित, विपन्नलगायत क्षेत्रमा बजेट अप्राप्त भएकोलगायत प्रश्न उठाउनुभएको थियो ।

Back to top button