विराटनगरमा राष्ट्रिय अनुसन्धानका सूचकको हत्या

विराटनगर । विराटनगर महानगरपालिका ५ पृथ्वीचोकमा गएराती भएको घरायसी विवादमा राष्ट्रिय अनुसन्धानमा सूचक पदमा कार्यरत दाइलाई भाइले नै धारिलो हतियार प्रहार गरेर हत्या गरेको छ ।

पृथ्वीचोक घरभई राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा सूचक पदमा कार्यरत ४२ वर्षीय भोला सिंहको हत्या भएको हो । सिंहको दुई छोरा र पत्नी छन् । हत्या आरोपमा प्रहरीले उहाँका भाइ ३१ वर्षीय काले भन्ने साजन सिंहलाई पक्राउ गरेको छ ।

लागुऔषध दुरव्यसनमा फसेकाले साजनकी पत्नीले गत वैसाखमा सम्बन्ध विच्छेद गरेको तर औपचारिक रुपमा सम्बन्ध विच्छेद गरे पनि उहाँकी पत्नीलाई परिवारले संरक्षण दिदै आएको विषयमा भएको विवादमा भोलाको मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो ।

‘मादक पदार्थको नसामा लठ भएका साजनले राती १० बजे सम्बन्ध विच्छेद भइसकेकी आप्mनी पत्नीलाई संरक्षण दिएको विषयमा परिवारका सदस्यहरुसँग वादविवाद गरिरहेको अवस्थामा भोलाले सम्झाईबुझाई गर्न गएका थिए,’ उहाँले भन्नुभयो, ‘सम्झाईबुझाई गर्ने क्रममा भोलास“ग पनि विवाद भएपछि साजनले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका थिए ।’

घाँटी, टाउको र हातमा काटिएर घाइते भोलालाई उपचारका लागि विराट नर्सिङ होममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिसीले बताउनुभयो । ‘साजनले सोकेसको सिसाले भोलामाथि प्रहार गरेको प्रहरीलाई बयान दिएको छ,’ उहाँले भन्नुभयो, ‘तर भोलाको शरीरमा लागेको घाउले धारिलो हतियार प्रहार भएको देखिए पनि उक्त हतियार बरामद भइसकेको भने छैन । खोजी कार्य जारी छ ।’ विवादका क्रममा साजन पनि घाइते भएको र उहाँको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

घटनास्थलमा फुटेको कुर्सी, सिसाका टुक्राहरु छरिएको र रगतै रगत रहेको उहाँले सुनाउनुभयो । यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न भएका साजन घाइते भएर उपचार भइरहेकोले घटनाका तथ्यहरु बाहिर आउन बाँकी रहेको तर अनुसन्धान भइरहेको जिसीले बताउनुभयो । साजनमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।

तालिम सकेर विदामा आएका भोला कार्यालय फर्किने तयारीमा रहेको बेला हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिसीले बताउनुभयो । हेटौडामा तालिम सकेर केही समयका लागि विदामा आएका भोलाले शुक्रबारै एम्बुलेन्समा खोटाङ फर्किने तयारी गरेको तर अन्तिम समयमा एम्बुलेन्स नगएपछि उहाँ घरमै रोकिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिसीले बताउनुभयो ।

Back to top button