भदौभित्र सवै नागरिकलाई कोभिड विरुद्धको खोप लगाउन सरकारसँग एमाले मोरङको माग

विराटनगर । नेकपा एमाले मोरङले भदौ भित्र सम्पूर्ण नागरिकलाई कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप लगाउन सरकारसँग माग गरेको छ । आज बसेको जिल्ला किमिटीको पूर्ण वैठकले कोरोना भाइरस संक्रमणबाट बच्न खोप नै बढी प्रभावकारी विकल्प भएको विभिन्न अध्ययनले देखाएको भन्दै सम्पूर्ण नागरिकलाई निशुल्क खोपको व्यवस्था गर्न समेत माग गरेको हो ।

कोभिड–१९ को संक्रमणका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै एमाले मोरङले मृतकका परिवारजनप्रति समवेदना समेत ब्यक्त गरेको छ । वैठकले सम्पूर्ण जिल्लाबासीमा निषेधाज्ञा खुलेपनि स्वास्थ्य मापदण्डलाई भने अनिवार्य पालना गर्न समेत आग्रह गरेको छ ।

यसैगरि मनसुन जारी रहेको अवस्था बाढी पहिरोजस्ता प्राकृतिक विपद आउनसक्ने भन्दै नेकपा एमालेले जिल्लाबासीमा सचेत र सजग रहन समेत आग्रह गरेको छ । विपदले हुनसक्ने धनजनको क्षतिलाई न्यूनिकरण गर्न राष्ट्रिय युवासंघ, अनेराश्ववियू, ट्रेड युनियन महासंघलगायतका भातृ संगठनलाई स्वयम्सेवी सहयोगका लागि तयारी अवस्थामा रहन समेत निर्देशन गरेको छ ।

नेकपा एमाले मोरङले संगठन विभागले गरेको निर्णयलाई सामान्य फेरबदल गर्दै पार्टी सदस्यता नविकरण गर्ने निर्णय गरेको छ । साउन १० गतेसम्मको समयसीमालाई १५ गतेसम्म पुर्‍याउँदै तत्कालिन नेकपामा रही हाल नेकपा एमालेमा रहेका सम्पूर्ण सदस्यहरुलाई २०७८ चैत मसान्तसम्मको पार्टी सदस्यता नविकरण गर्न आह्वान गर्ने निर्णय गरेको छ ।

एमाले जिल्ला कमिटीको पूर्ण वैठकले जिल्लाका सवै वडा कमिटीको भदौं ५ र १७ वटै स्थानीय तहको भदौ १५ मा एकसाथ अधिवेशन गर्ने समेत निर्णय गरेको नेकपा एमाले मोरङ स्कुल विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिनुभयो ।

सर्वोच्चको फैसला अगावै विपक्षी गठबन्धन त्याग्नुपर्छ : केन्द्रीय सदस्य विनोद ढकाल 

नेकपा एमाले मोरङ जिल्ला कमिटीको पूर्ण वैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश समिति सचिव विनोद ढकालले पार्टीभित्रको अन्तरविरोध हल गर्न अध्यक्ष ओलीले हदैसम्मको लचकता अपनाइरहेको बताउनुभएको छ ।

यसका निम्ति कार्यदलले समेत काम गरिरहेको भन्दै नेता ढकालले यद्यपी वरिष्ठ नेता माधवकुमार नेपालले खेल्नुभएको भूमिकाप्रति केहि आशंका रहिरहेको बताउनुभयो ।

उहाँले सर्वोच्च अदालतको फैसला आउनुपूर्व नै नेता नेपालले विपक्षी गठबन्धनका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताउनुभयो ।

सर्वोच्चको फैसला अघि नै विपक्षी गठबन्धनमा राखेको आवद्धता त्यागेको सार्वजनिक गरे एमालेभित्रको एकता कायम हुने विषयमा कुनै शंका नरहने भन्दै उहाँले यदि फेरी पनि जालझेलमै लागिरहे संस्थापन पक्षले पार्टीका गतिविधिहरुलाई चलायमान बनाउँदै अघि बढ्ने बताउनुभयो ।

उहाँले नेताद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालकै भूमिकाका कारण आज पार्टी यो अवस्थामा आइपुगेको भन्दै नेता ढकालले माधवकुमार नेपालसँग मिलेर अध्यक्ष ओलीलाई बाहिर राखेर सत्ताकब्जा गर्ने प्रचण्डको अन्तरनिहित स्वार्थले यो अवस्था आएको समेत बताउनुभयो ।

Back to top button