एमाले फुटाउन प्रधानमन्त्रीले आजै विश्वासको मत लिन चाहेको नेता भीम आचार्यको आरोप

काठमाडौं । नेकपा एमालेका सचिव तथा माधव नेपाल समूहका नेता भीम आचार्यले एमाले फुटाउने नियतले प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिन खोजेको आरोप लगाउनुभएको छ ।

माधव नेपाल निवासमा आन्तरिक छलफलपछि पत्रकारसँग कुरा गर्दै आचार्यले एक महिना समय हुँदाहुँदै र अन्य विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र भएको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, ‘एमालेलाई विभाजित गर्ने कुत्सित षड्यन्त्र अनुसार यो काम हुँदैछ । दश बुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र बाहेक अरु केही होइन ।’

सचिव आचार्यले देउवालाई विश्वासको मत दिने बारेमा माधव नेपाल समूहमा कुनै छलफल नभएको र पार्टीले पनि निर्णय नगरेको भन्दै केही व्यक्तिले मनलागी गरिहेको समेत आरोप लगाउनुभयो ।

उहाँले मनलाग्दी ढंगले व्यक्तिगत रूपमा कसैले गर्छन् भने त्यो व्यक्तिगत हुन्छ, समूहको कुरा नहुने समेत प्रष्ट्याउनुभयो ।

Back to top button