देउवालाई विश्वासको मत नदिने एमाले स्थायी समितिको निर्णय, विश्वासको मत दिने एमालेमा नरहने

काठमाडौं । नेकपा एमालेको आज बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गर्दै विश्वासको मत दिनेहरु आजैदेखि एमाले नरहने निर्णय गरेको छ ।

पुनःस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावले धेरै प्रश्नहरू जन्माएको ठहर गरेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यसअघि नै पार्टीले प्रतिपक्षमा रहने र सरकारलाई समर्थन नगर्ने भनिसकेकाले विश्वासको मत नदिन सांसदलाई निर्देशन दिइएको बताउनुभयो । सम्भवभएसम्म अरु दलसँग पनि सोही आग्रह गरिने उहाँले बताउनुभयो ।

ज्ञवालीले १० बुँदे सहमति कार्यन्वयन गरी पार्टी एकताको रक्षाका लागि निरन्तर प्रयास गरे पनि आज कार्यदलसँगको भेटमा माधव नेपालले त्यसलाई अश्वीकार गरेको जानकारी दिनुभयो ।

उहाँले माधव नेपालले देउवा सरकारलाई विश्वासको मत दिने जानकारी आफूहरूलाई गराएको बताउनुभयो । ज्ञवालीले भन्नुभएको छ, ‘उहाँले एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो ।

उहाँको तर्फबाट कार्यदलमा रहनु भएका साथीहरुले त्यसो गर्नु उचित नहुने बताएपनि उहाँले आफू एउटा बिन्दूमा पुगिसकेको प्रतिकृया दिनुभएको छ ।’

एमाले बैठकमा कार्यदलका सदस्यहरूले माधव नेपालसँगको छलफलको जानकारी गराएका थिए । नेपाल अब एमालेमा नफर्किने निष्कर्ष बैठकले निकालेको छ ।

तर, १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने निर्णय बैठकले गरेको छ । पार्टीको निर्णय विपरीत देउवालाई विश्वासको मत दिने सांसदहरु आजको दिनदेखि एमाले नरहने समेत ज्ञवालीले बताउनुभयो ।

Back to top button