प्रदिप ज्ञवालीको टिप्पणी : पहिले श्री ५ ले बनाएको अहिले श्रीमान् ५ ले बनाएको सरकार

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवालाई श्री पाँच (राजा) ले न्याय दिएको र अहिले श्रीमान् ५ (पाँच न्यायाधीश) ले न्याय दिएर प्रधानमन्त्री बनेको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनसम्बन्धी छलफलमा नेकपा (एमाले) को प्रतिनिधित्व गर्दै ज्ञवालीले देउवा तीन–तीन पटक नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको स्मरण गर्नुभयो ।

‘तीन–तीन चोटी दलीय विभाजनको शिकार भएका देउवा आज धारा ५ को अपव्याख्याको सहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘इतिहास दुई चोटी दोहोरिन्छ भनिन्छ । उहाँ आफैं दलीय विभाजनको शिकार हुनुहुन्थ्यो ।’

उहाँले गृहमन्त्री हुँदा र दुई पटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको भन्दै देउवा अरुको पार्टी विभाजन गरेर प्रधानमन्त्री बन्न लागेको आरोप लगाउनुभयो । ज्ञवालीले सर्वोच्चको पछिल्लो फैसलाले दलीय प्रणाली कमजोर हुने बताउनुभयो ।

उहाँले आज एमालेलाई अप्ठ्यारो होला, एकछिनलाई हार –जित होला भन्दै त्यसले आफूहरुलाई चिन्ता नहुने तर, दलीय प्रणाली कमजोर भयो भने कसैलाई फाइदा नहुने बताउनुभयो ।

उहाँले सर्वोच्चको आदेशले प्रतिनिधिसभाका हरेक सांसदलाई ह्वीप नलाग्ने भयो । यसले राजनीतिक विभाजन ल्याउनसक्ने तर्फ ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।

Back to top button