पथरीशनिश्चरेमा कोरोना संक्रमित बढ्दै, सजकता अपनाउन नगरको अनुरोध

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या पुनः बढ्न थालेपछि नगरपालिका कार्यालयले थप स्वास्थ्य सजकता अपनाउन नगरवासीमा अनुरोध गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईले कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि नगरवासीमा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुभएको हो । उहाँले मास्क लगाई भिडभाड नगरी भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने बारेमा सुझाउनु भएको छ ।

व्यवसायीहरुले पनि आफ्नो पसल एवम् व्यवसाय सञ्चालनका क्रममा मास्क, भौतिक दूरी कायम गराएर सेनिटाइजरको व्यवस्थापन गर्दै व्यवसायी र सेवाग्राही दुवै पक्षले सजकता अपनाउनु बाहेकको विकल्प नरहने उहाँले जनाउनु भयो ।

कोरोनाको खोप सरकारले क्रमिक रुपमा व्यवस्थापन गर्ने भएपनि स्वास्थ्य सतर्कता अपनाउने कुरा कसैले भुल्न नहुने उहाँले वताउनु भयो ।

८८ जनाको पीसीआर परीक्षणमा ६० जनामा कोरोना संक्रमणको देखिएपछि पथरीशनिश्चरेमा सजगता अपनाउन अपरिहार्य देखिएको स्वास्थ्य संयोजक मुरारी आचार्यले बताउनुभयो ।

गत चैतयता हालसम्म १ हजार ३ सय ७२ जनाको पीसीआर परीक्षणमा ५ सय ५९ जनामा र ४ सय ३२ जनाको एन्टिजिन परीक्षणमा १४ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाबाट २ दर्जनको संख्यामा नगरवासीको मृत्यु भएको छ ।

Back to top button