कर्मचारीको सेटिङमा एकिकृत भन्सारबाटै तस्करी हुँदा पूरा भएन विराटनगर भन्सारको राजश्व असुली लक्ष्य

डिएन पथिक
विराटनगर । कर्मचारीहरुको सेटिङमा एकिकृत भन्सार जाँच चौकीबाटै तस्करी भइरहेकाले विराटनगर भन्सार कार्यालयको गत आर्थिक वर्ष २०७७/७८ को भन्सार असुली लक्ष्य पूरा हुन सकेन ।

विराटनगर भन्सार कार्यालय गत आवमा पाएको ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजारमा ८८ दशमलव ४५ प्रतिशत अर्थात् ४० अर्ब ८१ करोड ९० हजार १३ रुपैयाँ मात्रै असुली गर्न सकेको हो ।

साउन, भदौ, कार्तिक, मंसिर, पुस र चैतमा मात्रै मासिक लक्ष्य भेटाएका विराटनगर भन्सारले बैसाखदेखि यता लक्ष्य आधा पनि भन्सार असुली गर्न नसकेको भन्सार कार्यालयको तथ्यांकले जनाएको छ । गत वर्ष निषेधाज्ञा अवधीमा पनि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु सञ्चालनमा समस्या नभएकाले आयात निरन्तर हुँदासमेत भन्सार असुली लक्ष्य पूरा नहुँदा आशंका बढेको हो ।

विराटनगर भन्सार प्रमुख शिवप्रसाद भण्डारीले आउँदो कातिक २२ गते अवकास प्राप्त गर्न लागेकाले केही समयदेखि भन्सार एजेन्ट प्रतिनिधिसँगै सेटिङ मिलाएर तस्करी चलाउन थालेको छ । भन्सार कार्यालयले न्यून मूल्यांकन, प्रज्ञापन पत्र कम राजश्व पर्ने सामान उल्लेख गरेर बढी राजश्व पर्ने सामान पठाउने, एउटै प्रज्ञापन पत्रमा पटक पटक सामान पठाउने, भीसीटीएस प्रणालीमा मालवस्तु बोकेको ढुवानी साधन प्रविष्ट नै नगराई पठाउने गरेको छ ।

सेटिङकै कारण कर्मचारीले न्यून मूल्यांकनका साथै भेहिकल, कन्साइन्मेण्ट टर्‍याकिङ सिस्टम (भिसिटिएस) अर्थात् मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीमा प्रविष्ट नै नगरी भन्सार जा“च पास गरी पठाएको दुई ट्याक्टर सामान राजश्व अनुसन्धान इकाइ कार्यालय इटहरीको टोलीले विराटनगरबाट बुधबार राती पक्राउ गरेको छ ।

भन्सार एजेन्ट भरतराज भट्टराईका एजेन्ट प्रतिनिधि अकबर अलीले ‘अली ट्रेडर्स’को नाममा भारतबाट आयात गरेको सामान भन्सार जाँच पास गराई को१त ६८११ र भारतीय नम्बर प्लेको बीआर५०जी ५०५३ नम्बरको ट्रयाक्टरमा ल्याउँदै गरेको बेला राजश्व अनुसन्धान इकाइ कार्यालय इटहरीका प्रमुख दिपक खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

ट्याक्टरमा ल्याएको सामानमा कपडा मात्रै भएको प्रज्ञापन पत्रमा उल्लेख भएको तर त्यसमा हार्डवेयर र मेसिन सामान समेत बरामद भएको खड्काले बताउनुभयो ।

कपडामा ३७९, ४५० र ५९९ रुपैयाँ दर रेटको स्टिकर लागेको भए पनि भन्सार कर्मचारीले १ सय रुपैयाँ मात्रै मूल्यांकन र गाडीमा प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा फरक सामान भन्सार जाँच पास भएर आएकोले प्रश्न उठेको उहाँको भनाई थियो । करिव ४० लाख मूल्य बराबरको उक्त सामानको अलीले १ लाख २२ हजार मात्रै राजश्व बुझाएको छ ।

यसअघि जिल्ला प्रहरी मोरङले अलीको विराटनगर ६ स्थित गोदाममा छापा मारेर १० लाख मूल्य बराबरको ४ हजार २ सय ८८ थान हाफ पाइन्ट, ४ सय ३० थान भेस्ट, ४४ जोर जुत्ता र २ सय २० थान बच्चाको कपडा बरामद गरेको थियो । उक्त सामान पनि अलीले एउटै प्रज्ञापन पत्र पटक पटक प्रयोग गरेर एकिकृत भन्सार जाँच चौकीबाटै ल्याएका थिए । उक्त मुद्दा अहिले पनि राजश्व अनुसन्धान कार्यालयमा यथावतै रहेको छ ।

यस्तै, प्रहरीले विराटनगरबाटै गत वैशाख ११ गते भन्सारबाट राजश्व छलीको मालसामान लिएर आउँदै गरेको बीआर३८जे ८४५४ र बीआर ३८ सी २८९१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो । उक्त दुबै ट्याक्टरमा पनि प्रज्ञापन पत्रमा लेखिएको भन्दा फरक सामान बरामद भएको थियो ।

राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खड्काले यसरी भन्सारबाटै भन्सार छली गरेर ल्याउने क्रममा पक्राउ परेको गत आवको ९ वटा मुद्दा न्याय निरुपणको प्रक्रियामा रहेको बताउनुभयो ।

विराटनगर भन्सार कार्यालय प्रमुख शिवप्रसाद भण्डारीले आयातमा आधारित भन्सार भएकोले गत वर्ष सुनसरी–मोरङ औद्योगिक कोरिडोरको उद्योग राम्ररी सञ्चालन नहुनु र निषेधाज्ञाले बजार व्यवसाय पनि प्रभावित भएकालेले भन्सार असुली लक्ष्य पूरा गर्न कठीनाइ भएको दावी गर्नुभयो ।

‘भन्सार असुलीमा कुनै किसिमको भन्सार पक्षको लापरवाही नभई भन्सार जाँचपास, मूल्यांकन, प्रशासनिक सुधार र चोरी निकासी नियन्त्रणले विगत वर्ष भन्दा गत वर्ष भन्सार असुली बढी भएको छ,’ उहाँले भन्नुभयो, ‘विगत वर्षभन्दा गत वर्ष ४४ प्रतिशत भन्सार असुली बढी भएको हो ।’

राजश्व अनुसन्धान कार्यालयको राजश्व असुलीको अनुगमन, नियमन गर्ने जिम्मेबारी नै भएकोले भन्सारबाट जा“चपास भएका सामानहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने गरेको भण्डारीले बताउनुभयो ।

‘राजश्व अनुसन्धान कार्यालयले अनुसन्धान गरेको सामानमा व्यवसायी र भन्सार कर्मचारीको त्रुटी औल्याएपछि भन्सार कार्यालयलाई जानकारी दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘राजश्व अनुसन्धानको अनुसन्धान प्रतिवेदनमा भन्सार कर्मचारीको कमजोरी देखिए सुधार गर्छौं ।’ गत वर्ष पनि राजश्व अनुसन्धानले नियन्त्रणमा लिएका मालसामानमध्ये दुई वटा ट्याक्टरमा कुनै कैफियत नदेखेपछि छाडिदिएको भण्डारीले दावी गर्नुभयो ।

Back to top button