उद्योग क्षेत्रको विद्युत समस्या समाधानका लागि पूर्वका उद्योगीद्वारा ऊर्जा मन्त्रीलाई आग्रह

विराटनगर । उद्योग क्षेत्रमा देखिएको विद्युत आपुर्तिलगायतका समस्या समाधानका लागि पूर्वका उद्योगी व्यवसायीले उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसाललाई आग्रह गर्नुभएको छ ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा नेतृत्वको टोलीले कटहरी गाउँपालिकालगायत मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योगहरुले विद्यूत आपूर्तिमा भइरहेको असजताप्रति मन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

‘मोरङ–सुनसरी औद्योगिक कोरिडोरअन्तर्गत कटहरी गाउँपालिकासहित आसपासका क्षेत्रहरुमा ३३ केभिए लाईन जडान रहेतापनि हाल विद्यूत आपूर्तिमा ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित विद्यूत आपूर्ति भई रहेकोले उद्योगहरु संचालनमा कठिनाई भई रहेको छ,’ मुन्दडाले भन्नुभयो, ‘विद्युत आपुर्तिको असजताले अधिकांश उद्योगहरुले उत्पादन कटौति गर्न बाध्य भएको छ ।’

वर्षायाममा मर्मत सम्भारका कार्यहरु समेत सुस्त हुँदा अवस्था जर्जर हुँदै गएको र ती समस्याहरुका कारण समग्र कोरिडोरकै उत्पादकत्वमा ह्रास आई अर्बौको निर्यात प्रभावित भएको तथा राजस्व समेत गुमिरहेको मन्त्री भुसाललाई जानकारी गराउनुभयो । मुन्दडाले विद्यमान समस्याहरुको तत्काल समाधानका लागि ठोस कदम चाल्न मन्त्री भुसाललाई आग्रह गर्नुभयो ।

विद्युत महशुल र डिमाण्ड शुल्कको दरमा निरन्तर भइरहेको वृद्धिले उद्योगहरुको लागत खर्च बढेको र त्यसको भार उपभोक्ता वर्गलाई समेत परिरहेको मन्त्रीलाई उद्योगीहरुले ध्यानाकर्षण गराउनुभयो ।

संघको टोलीमा पूर्व अध्यक्ष महेश कूमार जाजू, निर्वतमान अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष नविन रिजालको सहभागिता रहेको थियो ।

Back to top button