देउवालाई सुवास नेम्वाङको प्रश्न : अनुशासन अरु पार्टीमा नहोस भन्ने मान्यता हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीभित्र अनुशासन चाहने तर अरुको पार्टीमा अनुशासन कायम नहोस भन्ने चाहेको हो भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै नेता नेम्वाङले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले एउटा पार्टीको केही व्यक्तिसँग गठबन्धन गर्नु असंसदीय, अलोकतान्त्रिक र संविधान विपरीत हो भन्ने जान्दाजान्दै कांग्रेसले विगतमा कम्युनिस्टहरु लोकतान्त्रिक मूल्य मान्यता जान्दैनन् भनेर सम्झाउने गरेको स्मरण गराउँदै भन्नुभयो,‘त्यसभित्र यो पर्छ ? प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

संविधानको धारा ७६(५) अनुसार देउवाले प्रधानमन्त्रीमा दाबी गर्दा एमालेका २६ सांसदले समर्थन गरेका थिए भने ३ साउनमा प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत दिंदा माधवकुमार नेपालसहित एमालेका २२ सांसदको मत दिए ।

देउवालाई विश्वासको मत लिने दिन कांग्रेस र माओवादी केन्द्रले मत दिन ह्वीप लगाएको स्मरण गर्दै संसदीय दलका उपनेता नेम्वाङले भने, ‘आफ्नोभित्र अनुशासन चाहिने, आफ्नो पार्टीबाहिर अनुशासन नचाहिने तपाईंहरुको मान्यता हो ?’

उहाँले एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका खेलेर सरकारलाई सहयोग गर्ने बताउनुभयो । हामी प्रत्येक मन्त्रालयको अनुगमन गर्छौं, सरकार कहिले के कसो गरिरहेको हेर्छौं भन्दै नेम्वाङले भन्नुभयो,‘गलत ठाउँमा गलत भन्दै टिप्पणी गर्दै सहयोग पुर्‍याउँछौं ।’

Back to top button