युथफोर्सको उपत्यका कमाण्ड गठन, जनताको चाहना विपरीत काम नगर्न पार्टी महासचिवको निर्देशन

काठमाडौं । बृहत शक्ति प्रदर्शन सहित आज युथफोर्सको १ हजार १ सय १ सदस्सीय उपत्यका कमाण्ड गठन भएको छ । युथ फोर्सका उपप्रमुख पुष्पराज श्रेष्ठको संयोजकत्वमा उपत्यका फोर्स गठन भएको हो ।

उपत्यका कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव इश्वर पोखरेलले जनताको चाहना विपरीतका गतिविधि नगर्न निर्देशन दिनुभएको छ । उहाँले युथ फोर्सले परिवर्तित परिस्थिति अनुसार काम गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले सम्बोधनका क्रममा निर्देशन दिँदै भन्नुभयो,‘ परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगार अभियान चलाउने काम युथफोर्सले गर्नुपर्छ ।’

महासचिव पोखरेलले भ्रष्टाचारका विरुद्ध पनि अभियान चलाउन सुझाव दिनुभयो । युथ फोर्स समाजमा आतंक सिर्जना गर्नेलाई तह लगाउन गठन भएको भन्दै पोखरेलले कानुनी शासन मान्ने र कानुनलाई कसैको हातमा नदिने स्पस्ट पार्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि कार्यक्रमलाई महासचिव पोखरेलले सम्बोधन गर्नुभएको हो ।

कार्यक्रममा एमालेका नेता तथा राष्ट्रिय युवा संघका इञ्चार्ज महेश बस्नेतले युथ फोर्स जन्मिदा पार्टीभित्रै र बाहिर पनि कतिपय आशंका जन्मिएको स्मरण गर्दै धेरै आशंका पालिरहन आवश्यक नरहेको बताउनुभयो ।

उहाँले युथ फोर्सले मित्रलाई पञ्जाले सलाम र वैरीहरूलाई मुठीले प्रतिवाद गर्ने बताउनुभयो । उहाँले एमालेले गठन गरेको भूमि आयोगलाई निस्कृय बनाएर ५८ हजार सुकुम्बासीलाई लालपूर्जा दिलाउने योजनामा सरकारले बाधा पारिरहेको भन्दै खारेज गर्ने षडयन्त्र भए देशभरि आगो बल्ने चेतावनी समेत दिनुभयो ।

घोषणा कार्यक्रम अघि युथफोर्सले मोटरसाइकल र्‍यालीसहित वृहत मार्चपास गरेको थियो ।

Back to top button