सरकारी निर्णयको अवज्ञा गर्दै मोरङमा तस्करीको लाइन चलाउन सुरक्षाकर्मीद्वारा चोर नाका खुल्ला

सुदिप कोइराला
विराटनगर । भारतमा कोरोनाको तेस्रो भेरियेन्टले संक्रमितको संख्या बढिरहेको बेला सुरक्षाकर्मीले सरकारी निर्णय अवज्ञा गर्दै मोरङमा तस्करीको लाइन चलाउन भारततर्फ आवत जावत गर्न चोर नाका खुल्ला गरेको छ । विराटनगर महानगर १६ को विराटनगर जुट मिलको दक्षिण गेट र दरैया बस्ती र वडा १७ को इस्लामपुर र मटेरुवास्थित चोर नाकाबाट भारततर्फ आवत जावत गर्न खुल्ला गरेको हो ।

यी सबै ठाउँबाट भारततर्फ जाने आउनेको दैनिक दिनभरि घुइँचो लाग्ने गरेको छ । भारतको जोगबनीबाट दैनिक उपभोग्य सामग्री खरिद गरेर फर्कनेहरुसँग सीमामा खटिएका नेपाल र सशस्त्र प्रहरीले अनेक दुःख दिएर अबैध रुपमा रकम असुल्ने गरेको सर्वसाधारणले गुनासो पोख्नुभयो ।

योसँगै सुरक्षाकर्मीले सानो तथा खुद्रा पसल गर्नेहरुका लागि दिनभरि तस्करीको लाइन चलाउने गरेको पाइयो । पसले र व्यवसायिक तस्करहरुलाई सुरक्षाकर्मीहरुले तस्करीका लागि दिनभरि परिचालन गरेर अबैध रुपमा मोटो रकम असुली गर्दै आएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताए ।

इस्लामपुरका मोहम्मद कमरुद्दिनले सीमा पूर्ण रुपमा सिल हुँदा सीमाममा खटिएका सुरक्षाकर्मीहरु सरकारी राशन खान बाध्य भएको बताउनुभयो । ‘सीमामा खटिएका सुरक्षाकर्मीहरुले भारतबाट दैनिक उपभोग्य सामग्री खरिद गरेर आउने र सानो तस्करबाट अबैध रुपमा रकम असुली गरेर गर्दै आएको आमदानी सीमा सिलले बन्द भएको थियो,’ उहाँले भन्नुभयो, ‘त्यसैले सुरक्षाकर्मीहरुले सरकारी निर्णयलाई अवज्ञा गर्दै चोर नाकाहरु खुल्ला गरेर तस्करीको लाइन चलाउन थालेको छ ।’

सुरक्षाकर्मीले तस्करीको लाइन चलाउन अबैध रुपमा भारततर्फ आवत जावतका लागि खुल्ला गरेकोले भारतमा फैलिरहेको कोरोनाको तेस्रो भरियेन्टको अत्यन्तै ठूलो जोखिममा सीमा क्षेत्रका बासिन्दा परेको कमरुद्दिनले गुनासो पोख्नु भयो ।

विराटनगर १६ का रामजी श्रेष्ठले दैनिक ३ लाख बढी मानिस विराटनगर जुट मिलको दक्षिण गेट र दरैया बस्तीबाट भारततर्फ आवत जावत गर्दै आएको बताउनुभयो । ‘यसले सीमा क्षेत्रमा मात्रै नभई नेपालभरि नै भारतमा फैलिरहेको कोरोनाको तेस्रो भेरियेन्ट फैलिने जोखिम उच्च छ,’ उहाँले भन्नुभयो, ‘सर्वसाधारणको स्वास्थ्यको र सीमा सिल गर्ने सरकारी निर्णयलाई सम्मान गर्दै तत्काल पूर्ण रुपमा सीमामा आवत जावतमा बन्दैज लगाउनु आवश्यक छ ।’

अस्थाई प्रहरी पोष्ट मटेरुवाको कार्यालय अगाडिबाट नै दिनभरि भारत आवत जावतको दैनिक घुइचो लाग्ने गरेको छ तर प्रहरी पोष्ट इन्चार्ज असय शिव कटुबालले कसैले पनि भारततर्फ आवत जावत नगरेको दावी गर्नुभयो । अस्थाई प्रहरी पोष्ट मटेरुवा र सशस्त्र प्रहरीको संयुक्त टोलीले मटेरुवा नाकाबाट आवत जावत गर्नेलाई व्यवस्थित रुपमा कडाइका साथ चेक जाँच गरेर अबैध रुपमा रकम असुली गरिरहेको पाइयो ।

‘हामीले भारततर्फ आवत जावत गर्नेलाई पूर्णरुपमा कडाई गरेका छौं,’ उहाँले दावी गर्नुभयो, ‘केही स्थानीयले लुकिछिपी मात्रै भारततर्फ जानेआउने गरेकोले त्यसलाई पनि कडाइका साथ रोक्न लागि परेका छौं ।’

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउतले स्थानीयवासीको दवाव थेग्न नसकेकोले आवत जावत भइरहेको स्विकार्नुभयो । उहाँले तस्करीको लाइन बारे जानकारी नभएको र त्यस्तो भइरहेको भए तत्काल छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले सुरक्षाकर्मीको सेटिङमा तस्करीको लाइन चलाइरहेको विषयमा तत्काल छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले सीमा क्षेत्रका मात्रै नभई काठमाडौंबाट आएका व्यक्तिहरुले सीमावर्ति भारतीय बजार जोगबनी किनमेलका लागि जाने गरेकोले समस्या भएको बताउनु भयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले सर्वसाधारणको भारत आवत जावतका लागि निकै ठूलो दवाव रहेकोले सबै नाका बन्द राखेर रानी नाका खुलाउन केन्द्रमा पत्राचार गरेको बताउनुभयो । प्रजिअ निरौलाको भनाईले पनि सबैको सेटिङमा नै तस्करी भइरहेको प्रष्ट हुन्छ । सुरक्षानिकायले नै कोरोनाको जोखिमबीच सीमा खुल्लाका लागि पहल गरिरहेको प्रजिअ निरौलाको भनाईले पनि प्रष्ट भएको छ ।

Back to top button