कोरोना संक्रमित बढ्दै, छैन सचेतता र तयारी

सुदिप कोइराला
विराटनगर । निषेधाज्ञा खुलेसँग प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतमा तेस्रो लहरको कोरोना संक्रमितको संख्या बढ्दै गएकोले यो प्रदेश पनि अत्यन्तै जोखिममा छ । तर सर्वसाधारणले सचेतता अपनाउने गरेको छैन र प्रदेश तथा स्थानीय सरकारले त्यसका लागि कुनै तयारी समेत गरेको छैन । यसले भयावहस्थिति निम्तिने देखिन्छ । तेस्रो लहरमा बालबालिका अत्यन्तै जोखिममा पर्ने भएकोले विज्ञहरुले चेतावनी दिदै आएको छ ।

प्रदेश १ मा शनिबार १ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस प्रदेशमा पिसिआर र एन्टिजेन परीक्षण गरिएकामा २७ दशमलव ६८ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । १ हजार ६६१ जनाको पीसीआर परीक्षणमा ३३८ र २ हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा २०८, झापामा ३०९, सुनसरीमा १४०, इलाममा १२५, उदयपुरमा ३४, पा“चथरमा ९४, भोजपुर र खोटाङमा १६–१६, धनकुटामा ३६, संखुवासभामा २४, तेह्रथुममा ४४, ताप्लेजुङमा २७, ओखलढुंगामा १३ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

यस प्रदेशमा हालसम्ममा पिसिआर परीक्षणमा ८० हजार ९३६ र एन्टिजेन परीक्षणमा २६ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले जनाएको छ ।

यस प्रदेशमा पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएकामध्ये हाल ६ हजार १७० जना सक्रीय संक्रमित रहेको छ । जसमा यहाँका बिभिन्न अस्पतालमा ५३८, आइसोलेसन केन्द्रहरुमा १९८ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । एन्टिजेन परीक्षणमा संक्रमण देखिएकाहरुको उपचारको अवस्था बारे मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छैन । यस प्रदेशमा शनिबार ३०७ जना संक्रमणमुक्त भएका छन् भने २ महिला र ६ जना पुरुषको कोरोना संक्रमणले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश भरिमा शुक्रबार २४ दशमलव ३० प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । ३ हजार ४८६ जनाको कोरोना परीक्षण गर्दा ८४७ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना संक्रमणले ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, बिहीबार २ हजार ६०४ जनाको कोरोना परीक्षण गर्दा २९ दशमलव ८८ प्रतिशत अर्थात् ७७८, बुधबार ३ हजार ८७ जनाको कोरोना परीक्षण गर्दा ३० दशमलव ३९ प्रतिशत अर्थात् ९३८ र मंगलबार ३ हजार ६६० जनाको परीक्षण गर्दा ३० दशमलव १९ प्रतिशत अर्थात् १ हजार १०५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले निषेधाज्ञा खुलेसँगै संक्रमणको दरमा वृद्धि भइरहेकोले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्नुको विकल्प नभएको बताउनु हुन्छ । उहाँले भारतमा कोरोनाको तेस्रो भेरियण्टका संक्रमित बढिरहेकोले नेपालमा पनि तेस्रो भेरियेन्टको जोखिम उच्च रहेको हुँदा सबैलाई सचेतता अपनाउन आग्रह गर्नुभयो ।

उहाँले भारतबाट भइरहेको खुल्ला अवागमनलाई तत्काल रोकेर व्यवस्थित अवागमन गराउन तिर सबैको ध्यानाकर्षण हुनु जरुरी रहेको बताउनुभयो ।

Back to top button