नेपाली फुटबलका मुख्य प्रशिक्षकद्धारा राजिनामा दिने घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गर्नुभएको छ ।

प्रशिक्षक अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको कारणले राजीनामा दिन लागेको सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

नेपाली ‘फ्यान’हरुलाई सम्बोधन गर्दै उहाँले स्टाटसमा लेख्नुभएको छ,‘म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु ।’ उहाँले अब तपाई खुसी हुनु भयो होला पंकजविक्रम नेम्वाङ ? भन्दै रौष समेत ब्यक्त गर्नुभएको बुझिन्छ ।

अब्दुल्लाह गत चैत २२ गते नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रूपमा सार्वजनिक हुनुभएको थियो । नेपाली फुटबललाई नयाँ उचाईमा पुर्‍याउने अठोटका साथ मैदानमा ओर्लिएका अब्दुल्लाहले घरेलु मैदानमा थ्री नेसन्स कपको उपाधि जितेको टोलीमा १३ खेलाडी परिवर्तन गर्नुभएको थियो ।

उहाँको नेतृत्वमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने विश्वकप र एसिया कप छनोटका बाँकी तीन खेल खेलेको थियो । युवा खेलाडीलाई विशेष स्थान र महत्व दिएका अब्दुल्लाहले नेपाललाई एसिया कपसम्म पुर्‍याउने र साफ च्याम्पियन बनाउने प्रमुख लक्ष्य रहेको बताउँदै आउनुभएको थियो ।

पछिल्लो समय अब्दुल्लाहले साफ च्याम्पियनसिप र एसियाकप छनोटको अर्को चरणका लागि ५० खेलाडीलाई पहिलो चरणमा बोलाएर प्रशिक्षण गराइरहनुभएको थियो । तीमध्ये अहिले ३६ जना खेलाडी निरन्तर बन्द प्रशिक्षणमा छन् ।

Back to top button