कोपोमिस सफ्टवेयरमा सहकारी दर्ता

मोरङ । पथरी शनिश्चरे नगरका सहकारी संस्थाहरुलाई नगरपालिकाले एकीकृत व्यवस्थापन सूचना प्रणाली अन्तर्गतको कोपोमिस सफ्टवेयरमा दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ ।

सहकारी विभागमार्फत १ नम्बर प्रदेश सहकारी कार्यालयबाट आवधिक कर्मचारी खटाएर कोपोमिस सफ्टवेयरमा सहकारी संस्थाहरुको विभिन्न पक्षको तथ्यांक प्रविष्ट गर्ने काम अघि बढाइएको हो ।

जसमा, पथरी शनिश्चरे नगरमा आर्थिक वर्ष २०७७÷०७८ मा १३ वटा सहकारी संस्था कोपोमिसमा दर्ता भएको र ३ वटाको दर्ताका केहि कागजात अपुरो रहेकाले प्रक्रियामा रहेको नगरको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले जनाउनु भयो । इन्रोलमेन्ट अफिसर शर्मिला गिरीले आवधिक कर्मचारीका रुपमा कोपोमिस सफ्टवेयरमा तथ्यांक प्रविष्ट गराउनु भएको हो ।

नगरको क्षेत्राधिकारभित्र पर्ने ४१ सहित प्रदेश क्षेत्राधिकार समेत भएका सहकारीको संख्या ६८ रहेको थियो । त्यसमध्ये हाल केहि सहकारी एकीकरण समेत भएका छन् । सहकारी शाखाले कानूनी तथा सहकारीको तौरतरिका व्यवस्थापनमा कठिनाई भएका सहकारीहरुको अनुगमन् गरी व्यवस्थित गर्ने सुझाव तथा तालिम समेत प्रदान गरेको छ ।

Back to top button