जनताको स्वास्थ्यसुरक्षामा गम्भिर बन्न युवासंघले गरायो ध्यानाकर्षण

भूमिप्रसाद पाठक,

पथरीशनिश्चरे । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको पथरीशनिश्चरे नगर कमिटीले पथरी नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै नागरिकको स्वास्थ्यसम्बन्धी बिषयमा गम्भिर बन्न आग्रह गरेको छ । संघले नगरपालिकाका कार्यबहाक प्रमुखको जिम्मेवारी सम्हाल्नुभएकी उपप्रमुख यमुना विष्ट बास्तोलालाई ज्ञापनपत्र बुझाएको हो ।

पथरी आसपासका थुप्रै पालिकाहरूले आफ्नो क्षेत्र सुरक्षित राख्न र जनतालाई कोभिड–१९ को संक्रमणबाट बचाउन लक–डाउन कार्यान्वयनमा ल्याइसक्दा पनि पथरी शनिश्चरे नगरपालिकाले त्यसतर्फ ध्यान नदिएको भन्दै संघले कोरोना महामारीको तेस्रो लहरलाई रोकथाम र नियन्त्रणका लागि ठोस कदम चाल्न ध्यानाकर्षण गराइएको युवा नेता मणि लुम्फुवा लिम्बूले बताउनुभयो ।

केन्द्रीय सरकार समेत नागरिकको स्वास्थ्यका सवालमा प्रयत्नशील हुन छाडेर सरकार फेरबदल र मन्त्रीमण्डल बिस्तारमा केन्द्रित हुँदा औषधी उपचारको अभावले देशव्यापी संक्रमण तीब्र भएको संघले उल्लेख गरेको छ । यस्तै नियन्त्रण उन्मुख रहेको कोरोना संक्रमणको दर फेरी बढ्दै जानु अत्यन्त दुखद रहेको भन्दै पथरीशनिश्चरेमा स्थानीय सरकारले अपेक्षाकृत काम गर्न नसकेको नगर अध्यक्ष किशन चाम्लिङ राईले बताउनुभयो ।

नगरबाहिर जाने वा भित्रने मानिसहरुको चहलपहल, बजार क्षेत्रमा देखिने अस्वाभाविक भीड, खुल्ला बजार र बिक्रीवितरण, बिना स्वास्थ्य मापदण्ड पालना सञ्चालित सार्वजनिक यातायातजस्ता क्षेत्रलाई नियमन गर्न नसक्दा ठूलो मानवीय क्षति आउनसक्ने तर्फ युवा संघले ध्यानाकर्षण गराएको छ ।

संघले स्वस्थ्यकर दिनचर्या नै यतिबेलाको प्रमुख शर्त रहेको उल्लेख गर्दै जीवन नै नरहे पूर्वाधार विकास सहितको हाम्रो भौतिक समृद्धिको पक्ष मात्र दिवास्वप्ना हुने ज्ञापनपत्रमा उल्लेख छ । संघका नगर अध्यक्ष राई र सचिव रोशन गुरूङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कोरोनाको तेस्रो लहरसमेत आसपासका क्षेत्रमा देखा परेको भन्दै आउनसक्ने मानवीय क्षतिप्रति युवासंघले चिन्ता ब्यक्त गरेको छ ।

सम्भावित मानवीय क्षती रोक्न समयमा नै कडारुपमा स्वास्थ्य मापदण्ड पालना गर्न गराउन, सम्पूर्ण नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने वातावरण यथाशक्य चाँडो मिलाउन संघले आग्रह गरेको छ ।

यस्तै स्थानीय जनताको स्वास्थ्यसुरक्षाका लागि नगरले अवलम्बन गर्ने कुनै पनि स्वास्थ्य परियोजनालाई प्रभावकारी कार्यान्वयन गराउन युवा संघले स्वयंसेवी भूमिका समेत निर्वाह गर्नसक्ने उल्लेख गरेको छ ।

ज्ञापनपत्र बुझ्दै नगर उपप्रमुख विष्टले नागरिकको स्वास्थ्य सुरक्षाका लागि नगरपालिका सदैव गम्भिर रहेको बताउनुभएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ को संक्रमण नियन्त्रणका लागि पनि प्रयत्नशिल रहेको भन्दै युवासंघले उठाएका कतिपय बिषयलाई तत्काल कार्यान्वयनको चरणमा लैजाने बताउनुभयो ।

उहाँले संघीय सरकारले उपलब्ध गराएको खोपहरु समेत प्राथमिकता अनुशार सवै नागरिकलाई लगाइने बताउनुभयो । कार्यक्रममा युवासंघका अध्यक्ष, सचिवसहित नेताहरु सञ्जीव गिरी, भक्त राई, रञ्जीत कार्की, काशिहाङ राई, बिरोज मगर, उपेन्द्र मादेन, नवीन ढकाललगायतको सहभागिता थियो ।

Back to top button