सुनपसल लुट्न खोज्ने ६ जना पक्राउ

डीएन पथिक,

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका– १० त्रिवेणी चोकस्थित शिव पञ्चायन ज्वेलर्स लुटपाट गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा संखुवासभाको सभापोखरी गाउँपालिका ४ घर भई हाल इटहरी उपमहानगर २० तरहरा बस्ने ३९ वर्षीय प्रकाश भनिने चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका १ का ४५ वर्षीय डायमण्ड भनिने प्रमोद चौधरी, संखुवासभाको सभापोखरी ६ बाह्रबीसे घर भई इटहरी २० तरहरमा डेरा गरी बस्ने ३० वर्षीय चिरञ्जिवी राई, मोरङको सुन्दरहरैंचा ५ का २२ वर्षीय मिसन राइर्, भोजपुरको पौवादुम्बा–३ घर भई इटहरी २० तरहरामा डेरा गरी बस्ने ३० वर्षीय नगेन्द्र राई र सुन्दरहरैंचा ७ का ३१ वर्षीय सन्तोष राई रहेका छन् । प्रहरीले उनीहरुलाई आज नै पक्राउ गरेको हो । लुटपाटमा सम्लग्न मध्ये एकजना पूर्व सेना र अर्का पूर्व जनमुक्ति सेनामा रहेको पाइएको छ ।

पक्राउ परेका मध्ये चन्द्रबहादुर राई पूर्व नेपाली सेना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो । शेर गण खोटाङमा कार्यरत रहेको अवस्थामा तीन वर्ष अगाडि राईले राजिनामा दिएको अनुसन्धानका क्रममा खुलेको हो । यस्तै प्रमोद चौधरी माओवादीका पूर्वलडाकु हुन् । चौधरी यसअघि सुनसरीमा कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिसकेको ब्यक्ति रहेको उपरीक्षक जिसीले बताउनुभयो ।

लुटपाटमा सम्लग्नहरुको साथबाट एसएमजी र त्यसमा लाग्ने म्याग्जिन र ६२ राउण्ड गोली, कटुवा पेस्तोल र थ्री नट थ्री राइफलमा प्रयोग हुने ३ राउण्ड गोली र अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने म्याग्जिन र २ राउण्ड गोलीलगायतका हतियार बरामद भएको प्रहरी उपरीक्षक जिसीले बताउनुभयो ।

यस्तै उनीहरुले प्रयोग गरेको प्रदेश१–०२–०४४प ५९९५, को२०प १८६, को८प ६५८३, को२१प ६७०३ नम्बरको मोटरसाइकल, को२ह २७३६ नम्बरको अटो रिक्सा, बिभिन्न ब्राण्डका ६ थान मोवाइल, एमआरपी लेखिएको सञ्चार सेट दुई थान र १६ हजार ५ सय नगद बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

‘पक्राउ परेकामध्ये चन्द्रबहादुर र चौधरीलाई सुनसरीको तरहराबाट र अन्यलाई मोरङको सलकपुरबाट पक्राउ गरिएको हो,’ प्रहरी उपरीक्षक जिसीले भन्नुभयो, ‘सुन पसल लुटपाट गर्न जानेमध्ये एक जना अझै फरार रहेकोले खोजी कार्य भइरहेको छ ।’
चन्द्रबहादुर र चौधरीले योजनाबद्ध रुपमा सुन्दरहरैंचा १० का खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा साउन १ गते १ः१३ बजे लुटपाटको असफल प्रयास गरेका थिए ।

ज्वेलर्सको सिसि टिभी फुटेजको आधारमा अनुसन्धान गर्दै गएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ‘उनीहरुले सुरुमा बरामद भएको अटो रिक्साको प्रयोग गरेर २-३ दिन अगाडिदेखि पसल र वरिपरि सुराकी गरेका थिए । त्यसपछि साउन १ गते ३ वटा मोटरसाइकलमा ६ जना आएर सुन पसलमा लुटपाट गर्न खोजेको देखिन्छ’ जिसीले भन्नुभयो ।

चन्द्रबहादुरले एसएमजी, चौधरीले कटुवा पेस्तोल र पक्राउ पर्न बाँकी रहेका एक जनाले अटोमेटिक पेस्तोल बोकेर पसल भित्र प्रवेश गरेका थिए । अन्य ४ जनाले पसल बाहिर सुरक्षा घेरा बनाएको अनुसन्धानका क्रममा पाइएको उपरीक्षक जिसीले बताउनुभयो ।

लुटपाटका लागि तीनै जना सुन पसलभित्र प्रवेश गरेर सटर लगाएर हतियार देखाएपछि पसले थापाकी पत्नीले प्यासेजबाट घर बाहिर निस्केर होहल्ला गर्नुभएको थियो । त्यसपछि टोल छिमेकका मानिसहरुले पनि होहल्ला गर्दै जम्मा हुन थालेपछि उनीहरु पसलबाट बाहिर निस्केर भाग्ने क्रममा एसएमजी फायर गर्न खोजेका थिए । तर फायर नभएपछि उनीहरु भागेका थिए ।

घटनास्थलबाट भागेर उनीहरुले सुन्दरहरैंचा ५ नमूना सामुदायिक वनको मध्यभागमा रहेको करम प्रजातिको ठूलो रुखको टोड्कोभित्र कार्टुन टेपले बेरेर लुकाई बुढीखोलाको बाटोबाट इटहरी हुँदै तरहरा पुगेर बास बसेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक जिसीले बताउनुभयो ।

उनीहरुविरुद्ध हातहतियार खरखजाना, डाँका, संगठित अपराध र गोली चलाउने प्रयास मुद्दा दत्र्ता गरेर अनुसन्धान अघि बढाइएको जिसीले बताउनुभयो ।

Back to top button