पथरीमा भोली र पर्सि ५० देखि ५४ वर्षका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरेमा साउन १७ र १८ गते अर्थात भोली र पर्सी ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरस विरुद्धको जोनसन खोप लगाइने भएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षतामा आज बसेको नगर खोप समन्वय समितिको बैठकले भोली र पर्सी खोप लगाउने निर्णय गरेको हो ।

स्वास्थ्यकर्मी समेत सहभागि बैठकले भोली वडा नम्बर १ का लागि वडाको शहरी स्वास्थ्य केन्द्र, ७ को सहरी स्वास्थ्य केन्द्र, ९ र ८ का लागि शनिश्चरे स्वास्थ्य चौकी, ५ नम्बरका लागि हसन्दह स्वास्थ्य चौकीमा खोप लगाउने निर्णय गरेको स्वास्थ्य शाखा सहसंयोजक जगतप्रसाद मगरले जानकारी दिनुभयो ।

यस्तै पर्सी वडा नम्बर २ का लागि नगर अस्पताल, ३ को शहरी स्वास्थ्य केन्द्र, ४ र १० का लागि शनिश्चरे स्वास्थ्य चौकी र ६ कालागि आधारभूत स्वास्थ्य केन्द्र मंगलबारेमा खोप लगाइने छ । साथै भूटानी शरणार्थीहरुका लागि साउन १९ गते शरणार्थी शिविरमा खोप लगाइने निर्णय भएको छ । सो खोप एक पटक अर्थात एक डोज मात्र लगाइन्छ ।

खोप लगाउनका लागि ५० देखि ५४ वर्ष उमेर समूहका साथै १८ वर्षमाथिका अपाङ्गता भएका क र ख श्रेणीका व्यक्तिहरु, जोन्सन खोप लगाउने मान्यता दिइएको देशमा रोजगारमा जान चाहने व्यक्तिहरुले उमेर खुल्ने सहितका आवश्यक कागजात पेश गर्नु पर्ने निर्णय भएको छ ।

खोप लगाउन आउनेले कोरोना सतर्कता सहितको तोकिएको स्वास्थ्य मापदण्ड पुरा गर्न समेत अनुरोध गरिएको छ । यस अघि र चालु अवस्थामा खोप लगाउन छुट भएका उमेर समूहका लागि वडास्तरबाट तथ्यांक संकलन गरी नगरले थप खोप माग गर्ने समेत बैठकले निर्णय गरेको छ ।

Back to top button