बिरामीको मृत्युपछि गोल्डेन अस्पतालमा तोडफोड

विराटनगर । गोल्डेन अस्पताल विराटनगरमा बिरामीको मृत्यु भएपछि परिवारजनले अस्पतालमा तोडफोड गर्दै कर्मचारीलाई कुटपिट गरेको छ । धनपालथान गाउँपालिका ६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्युपछि आक्रोशित परिवारजनले तोडफोड गर्दै कर्मचारीलाई कुटपिट गरेको हो ।

मलद्वारमा भएको पिलोको शल्यक्रिया गरेपछि हुसेनको मृत्यु भएको परिवारजनले बताए । हिजो साँझ ७ बजे हुसेनको शल्यक्रियापछि भेन्टिलेटरमा राखेको तर राती १० नबज्दै मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । पिलोले हुसेनको मृगौला र मुटुमा संक्रमण फैलिएको अस्पताल प्रशासनका सन्तोष मेहताको दावी छ । हुसेन मधुमेह र न्यून रक्तचापका दीर्घ रोगी रहेको उनको भनाई छ ।

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै २५/३० जनाको सङ्ख्यामा आएका पिडित परिवारले राती अस्पतालमा आक्रमण गरेका थिए । आक्रमण गर्न आएकाहरुलाई सम्झाईबुझाई गर्न खोज्दा अस्पतालका कर्मचारी र सुरक्षागार्डलाई कुटपिट गरिएको मेहताले दावी गरे ।

कुटपिट र तोडफोडमा संलग्न भएको आरोपमा सात जनालाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिएको छ । धनपालथान ६ का ३४ वर्षीय मोहमद आजाद, ३३ वर्षीय मोहमद अख्तर, ३० वर्षीय मोहमद साजद, २३ वर्षीय मोहमद जुवेर, ३८ वर्षीय नारायण सहनी, ३६ वर्षीय मोहमद इरसाद र २० वर्षीय मोहमद सुवेरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरीले जनाएको हो ।

हुसेनको शव अस्पतालमा नै रहेको छ । पिडित परिवारले लापरवाही गर्ने चिकित्सकलाई कारवाही र क्षतिपुर्ति नदिएसम्म शव नबुझ्ने अडानमा छन् ।

Back to top button