जनताले देख्ने गरी काम गर्न मुख्यमन्त्री राईको निर्देशन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ । ‘परिवर्तनको अनुभूती नेता र कर्मचारीलाई होइन, जनतालााई हुनुपर्छ,’ मुख्यमन्त्री राईले भने, ‘जनताले बुझ्ने, देख्ने गरी काम गर्न मन्त्री र सचिवहरुको दायित्व हो ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित वार्षिक समिक्षा गोष्ठी एवम् मन्त्रीहरुसँगको कार्य सम्पादन सम्झौता कार्यक्रममा मुख्यमन्त्री राईले मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भयो ।

देशमा व्यवस्था परिवर्तन भएपनि मानसिकतामा परिवर्तन नआएको भन्दै मुख्यमन्त्री राईले पुरानो मानसिकता त्यागेर काम गर्न सचिवहरुलाई निर्देशन दिनुभयो । देश अहिले संघीय शासन प्रणालीमा गए पनि काम गर्ने शैलीमा कुनै परिवतर्नन आएको छैन । मुख्यमन्त्री राईले जनतालाई संघीयता बुझाउन किताब पढाएर होइन, कामबाट देखाउन, बुझाउन सक्नु पर्नेमा जोड दिनुभयो ।

कोरोना लगायतका संकटबीच पनि प्रदेश सरकारले उल्लेख्य काम गरेको मुख्यमन्त्री राईले दावी गर्नु भयो । समयमै बजेट कार्यान्वयनमा जुट्न उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो । अन्तिम चौमासिकमा आएर खर्च गर्ने संस्कारको अन्त्य गर्न आग्रह गर्दे मुख्यमन्त्री राईले पहिलो र दोस्रो चौमासिकबाट खर्च बढाउन आग्रह गर्नभयो । अनावश्यक चालूखर्च कटौती गर्न निर्देशन दिँदै मुख्यमन्त्री राईले बेरुजुजस्ता विषयहरु आउन नहुनेमा जोड दिनुभयो ।

Back to top button