विपि प्रतिष्ठानको आन्दोलन, ६ बुँदे सहमति पछि आंशिक फिर्ता

काठमाडौं । धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुशासन, पारदर्शिता र स्वास्थ्य सेवामा सुधार लगायतका १२ बुँदे माग राख्दै आन्दोलन गरिहेको आन्दोलनरत पक्ष र सरकार विच ६ बुँदें सहमति भएको छ ।

सरकारी वार्ता टोली र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएपछि आंशिक रुपमा आन्दोलनका कार्यक्रम फिर्ता भएको आन्दोलनरत पक्षको तर्फबाट वार्ता टोलीका संयोजक डा. सुर्यप्रसाद रिमाल (एसपी)ले बताउनुभयो ।

उहाका अनुसार कालोपट्टी बाँधेर काम गर्ने र इमरजेन्सी, कोभिड वार्ड लगायतमा काम ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रम फिर्ता भएका छन । डा. रिमालले बार्तावाट आंशिक उपलब्धी भएकोले काममा फर्कन तयार भएको भएपनि पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला र अन्य प्रदर्शन जारी रहने बताउनुभयो ।

प्रतिष्ठान शुद्धीकरणका लागि भन्दै करिव दुई महिना अघिदेखि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समिति बनाई आन्दोलन भइरहेको छ ।

सरकारी टोली र आन्दोलनरत पक्षविच भएको वार्तामा प्रतिष्ठानका सम्बन्धमा बनेका प्रतिवेदनहरु सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयमा एक महाशाखामा आजै तोक्ने, प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थाको प्रक्रिया शुरु गर्ने, प्रतिष्ठानमा भएका अनियमितताका विषयमा छानविन गर्न अब बस्ने सन्चालक परिषदले संघर्ष समितिको प्रतिनिधित्व हुने गरी अधिकार सम्पन्न उच्चस्तरीय आयोग बनाउने र संघर्षका कार्यक्रमलाई हाललाई स्थगित गरी प्रतिष्ठानबाट प्रदान गरिने सेवा सुचारु गर्ने सहमति भएको छ ।

सहमति पत्रमा स्वास्थ्य मन्त्रालयको तर्फबाट मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेल र संघर्ष समितिको तर्फबाट डा. एसपी रिमाल लगायतले हस्ताक्षर गर्नुभएको छ ।

आन्दोनकारीहरुले प्रतिष्ठानमा भएका भनिएका सबै अनियमितता, भ्रष्टाचार र बेथितिहरू छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठन गरिनु पर्ने र उक्त छानबिनबाट दोषी देखिएकाहरूलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने मुख्य माग राखेका छन ।

यसैगरी प्रतिष्ठानमा सुधारको माग गर्दै सुरु भएको आन्दोलनमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मी, रेक्टर डा.गुरु खनाल र निर्देशक डा. गौरीशङ्कर शाहलाई बर्खास्त गर्नुपर्ने माग पनि थपिएको छ।

Back to top button