नैतिक रूपमा महाधिवेशन पछि सार्ने ठाउँ सकियो : पौडेल पक्ष

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समयमा महाधिवेशन हुन नसके पार्टीमा अरु विकल्पको खोजी हुने निष्कर्ष निकालेको छ ।

बिहीबार पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सिबारीमा बसेको बैठकलेमहाधिवेशनको कुनै विकल्प नभएको निष्कर्ष निकाल्दै पौडेल पक्षले समयमै महाधिवेशन गराउनका लागि सभापतिको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

संवैधानिक, कानुनी, राजनीतिक र नैतिक रूपमा महाधिवेशन पछि सार्ने ठाउँ सकिएको भन्दै पौडेल पक्षले सभापतिले समयमा विचार नपुर्‍याए पार्टी अवैधानिक बाटोमा जाने दाबी गरेको छ । त्यस्तो अवस्थाबाट पार्टीलाई जोगाउन विशेष महाधिवेशन समयमा हुनुपर्ने भन्दै पार्टी सभापतिको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको हो ।

बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नुभयो, “अहिले कांग्रेस महाधिवेशनको मुखमा छौँ, क्रियाशील सदस्यको विवाद टुंगिएको छैन । यी सबै कुरा गरेर महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने विषयमा कुराकानी भएको छ ।” उहाले महाधिवेशन सुनिश्चित गर्न पार्टी नेतृत्वले दुई दिनभित्र कार्यतालिका र निर्देशिकासहित निर्वाचन समितिलाई क्रियाशील सदस्यता दिनुपर्ने बताउनुभयो ।

पार्टी संवैधानिक रुपमै संकटमा परिरहेको भन्दै त्यसलाई बचाउन नेतृत्वले नै संवेदनशील हुनुपर्ने बताउदै नेता पौडेलले भन्नुभयो “सभापतिजी प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा पार्टीका काममा केही समस्या भएको हो, पार्टीको वैधानिकता जोगाएर सरकारको प्रभावकारिता स्थापित गर्नुपर्ने जिम्मेवारी छ ।”

आगामी भदौ २३ गतेभित्र नयाँ नेतृत्व चयन नभए वर्तमान कार्यसमितिको वैधानिकता समाप्त हुने र यो केन्द्रीय समितिले काम गर्न नसक्ने भएकोले यस्तो अवस्था आयो भने विशेष महाधिवेशनबाट छोटो समयका लागि अस्थायी विकल्प हुनसक्छ भनेर विशेष महाधिवेशनको कुरा पनि उठेको उहाको भनाई छ ।

उहाले विशेष महाधिवेशनलाई महाधिवेशनको विकल्पका रुपमा आफूहरुले अघि नसारेको बताउनुभयो ।

Back to top button