कृषि अनुदान विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

विराटनगर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले प्रदेशसभामा पेस गरेको प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।

छलफलमा भाग लिएका प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्य शेखरचन्द्र थापाले समग्रमा विधेयक छोटो, छरितो र स्पष्ट भएको तर कृषि अनुदानले विदेश पलायन हुने युवालाई रोक्ने व्यवस्था हुनुपर्ने सुझाव दिनुभएको छ ।

‘कृषि कर्मका लागि वितरण गरिने अनुदान वास्तविक किसानको हात पुग्नु जति आवश्यक छ त्यति नै युवा वर्गलाई कृषि पेशामा आकर्षित गर्नु पनि हो,’ उहाँले भन्नुभयो, ‘सरकारले दिने अनुदानले विदेश पलायन भइरहेका युवालाई कृषिमा आकर्षित गरेर उत्पादन बढाउने व्यवस्था विधेयकमा हुनुपर्छ ।’ त्यसैले सम्बन्धित समितिमा लगेर विधेयकमाथि छलफल गर्नुपर्ने उहाँको भनाई थियो ।

विधेयक माथिको सैद्धान्तिक छलफलमा भाग लिएका जनता समाजवादी पार्टीका नेता जयराम यादव, माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगर, सत्तारुढ दल एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले किसानलाई लक्षित गरेर स्पष्ट व्यवस्थाका साथ विधेयक ल्याएको भन्दै प्रशंसा गर्नुभयो । प्रदेशसभाको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ ।

Back to top button