सरकार सञ्चालनको कार्यविधि आज सार्वजनिक गरिँदै

काठमाडौं । सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रूप दिइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका शीर्ष नेताहरू, मन्त्रीहरू र कार्यदलका संयोजक सहभागी बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको हो । प्रतिवेदन सरकारले आजै अपराह्न ४ बजे सार्वजनिक गर्ने कार्यदलका सदस्यसचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

कार्यदलले गत शुक्रबार प्रधानमन्त्री देउवालगायत शीर्ष नेतृत्वलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो। ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ।

वर्तमान सरकारमा मन्त्रीहरुले पालना गर्नुपर्ने आचारसंहिता समेत समेटिएको प्रतिवेदन नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको सात सदस्यीय कार्यदलले तयार पारेको हो।

प्रतिवेदनमा कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति, राष्ट्रिय हितको सम्वर्द्धन, संघीयता कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रुपान्तरण, तात्कालिक राहत पुनःनिर्माण तथा पुनःस्थापना, पर्यावरणीय सन्तुलन र अन्तरर्राष्ट्रिय सम्बन्धलगायतलाई प्राथमिकता दिइएको छ।

Back to top button