कोरोनाका बिरामी उपचार गर्ने अस्पतालको अनुगमन गर्न टोली गठन गर्न माग

विराटनगर । प्रदेशसभा बैठकमा प्रदेश सांसदले कोरोना संक्रमित बिरामीको उपचार गर्ने स्वास्थ्य संस्था तथा अस्पतालहरुले चर्को शूल्क उठाएको र उपचारमा वेवास्ता गर्दै आएकाले अनुगमन टोली गठन गर्न माग गरेका छन् ।

विपक्षी दल जनता समाजवादी पार्टीका प्रदेश सांसद राधा थापाले कोरोना संक्रमण पछिल्लो समय बढ्दै गएकाले अस्पतालका शैय्याहरु समेत भरिँदै गएको बताउनुभयो ।

‘अस्पतालहरुमा संक्रमित बिरामीहरुको उपचारमा लापरबाही हुनुका साथै चर्को शुल्क असुली भइरहेकोले अनुगमन टोली गठन गरेर नियमन गरौं,’ उहाँले भन्नुभयो, ‘सरकारी अस्पतालहरुमा उपचारका लागि भर्ना हुने संक्रमित बिरामीहरुलाई सिटामोल बाहेक कुनै ओक्षधी दिने गरेको छैन । सामुदायिक अस्पतालहरुले सिटामोल खुवाएरै संक्रमित मार्ने भएकाले अनुगमन गरौं ।’ अस्पतालहरुको अनुगमन गरेर नियमन नगरिएकाले सर्वसाधारण जनता निकै मारमा परेको थापाले गुनासो पोख्नुभयो ।

सदनमा प्रदेश सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशमा कोरोना संक्रमण बढिरहेकोले सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुका साथै मास्क र सेनिटाइजर नियमित लगाउन आग्रह गनुृभयो ।

‘सरकारले कोरोना संक्रमितको उपचारका लागि सक्दो प्रयत्न गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘अहिले प्रदेशभरिका प्रत्येक जिल्ला अस्पतालहरुमा अक्सिजन प्लाण्ट, आईसीयू, भेण्टिलेटर, एचडियूलगायतका परीक्षणको सुबिधाका साथै त्यही अनुसारका जनशक्तीको व्यवस्थापन गर्दै छु ।’

प्रत्येक जिल्ला अस्पतालहरुमा २÷२ जना विशेषज्ञ र मेडिकल अधिकृत पठाउने व्यवस्था गर्न लागेको उहाँले बताउनुभयो । ‘चिकित्सकहरुलाई जिल्ला अस्पतालहरुमा टिकाइ राख्नका लागि तलब भत्तामा पनि व्यापक वृद्धि गरेका छौं,’ मन्त्री राईले भनिन्, ‘हिमाली जिल्लामा ३ सय प्रतिशत, महाडमा २ सय ५० र तराईमा २ सय प्रतिशत तलव भत्ता वृद्धि गरेका छौं ।’ नर्स र पारामेडिक्स प्रत्येक जिल्ला अवस्थामा ६ जनाका दरले भर्ना गर्न ४० लाखको दरले बजेट पठाइसकेको उहाँले बताउनुभयो ।

प्रत्येक जिल्ला अस्पतालमा ख वर्गको एम्बुलेन्स, शव बाहन पठाउने व्यवस्था गरेको उनले बताइन् । एम्बुलेन्सको म्यापिङ्ग गरेर प्रत्येक एम्बुलेन्समा जिपिएस प्रणाली जडान गरेर मन्त्रालयमा कल सेन्टर राखिने र कल सेन्टरको नम्बर प्रदेशभरिका प्रत्येक घरधुरीमा टाँस्ने व्यवस्था गर्न लागेको मन्त्री राईले बताइन् । उहाँले प्रत्येक जिल्लामा स्वास्थ्य क्षेत्र र अस्पतालमा के कस्ता समस्या रहेको त्यसको बारेमा मन्त्रालयलाई ध्यानाकर्षण गराउन प्रदेश सांसदहरुलाई आग्रह गर्नुभयो ।

Back to top button