आरतीमाथि एसिड आक्रमण गर्नेलाई नयाँ कानुन अनुसार कसुरदार ठहर

जनकपुर । तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ अनुसार जनकपुर ७ पेठियामा पत्नी र छोरीमाथि एसिड आक्रमण गर्ने सञ्जिब साहलाई कसुरदार ठहर गरेको छ । उक्त अध्यादेश अनुसार दत्र्ता भएको नेपालमै यो पहिलो मुद्दालाई महत्वका साथ हेरिएको छ ।

जिल्ला अदालतका न्यायधिश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले  एसिड आक्रमण घट्नामा साहलाई हिजो कसुरदार ठहर गरेको हो । अध्यादेशमा भएको व्यवस्था अनुसार अदालतले साहलाई कैद, सजाय र क्षतिपूर्ति एक महिनाभित्रमा अर्को आदेश दिनुपर्ने हुन्छ ।

मुलुकी ऐन कानुन अनुसार र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशअनुसार उक्त मुद्दामा १५ वर्ष ६ महिना कैद सजाय र क्षतिपूर्ति माग गरिएको छ ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गतवर्ष मात्र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमनका लागि कठोर सजायको व्यवस्था गरी अध्यादेशमार्फत कानुन निर्माण गरेको छ । सरकारले अध्यादेश जारी गरेलगत्तै गत वर्ष कात्तिक २९ गते सञ्जिबले पत्नी आरती साह र छोरी रिया साहमाथि एसिड आक्रमण गरेका थिए ।

पारिवारिक विवादका कारण छुट्टिएर बसेकी आरतीको एसिड आक्रमणले अनुहारको दायाँ भाग, आँखा, छाती र हात जलेको छ । आरतीकी ४ वर्षीया छोरी रियाको बायाँ हात जलेको छ । ५ वर्षअघि विवाह भएको सञ्जिब र आरतीबीच सम्पत्ति लेनदेनमा विवाद भएपछि छुट्टाछुट्टै डेरा लिएर बस्दै आएका थिए । आरतीले तरकारी बेचेर र सञ्जीवले विभिन्न पसलमा काम गर्दै जीवनयापन गर्दै आएका थिए ।

एसिड आक्रमणमा आँखा गुमाएकी अहारतीको काठमाडौंमा उपचार भइरहेको र अहिले बिभिन्न संघ, संस्था र व्यक्तिको सहयोगमा कृत्रिम आँखा प्रत्यारोपणको तयारी गरेको छ । सञ्जिब घटना भएकै भोली पल्ट पक्राउ परेपछि अहिले पुर्पक्षका लागि कारागारमा रहेको जिल्ला प्रहरी धनुषाले जनाएको छ ।

Back to top button