मैलुङखोला जलविद्युतको आईपीओ बाँडफाँड, भाग्यमानी ६ जनालाई ११ कित्ता

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड भएको छ। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले हिजो प्रि–अलटमेन्ट सकेर आज बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ । बाँकी २० लाख ६५ हजार १२४ जनाको आवेदन स्वीकृत भएको छ।

स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। जसमध्ये ६ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहने ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँड गरेको हो।

Back to top button