एमाले अध्यक्ष ओलीको आपत्ति : राष्ट्रियताको मुद्दामा सरकारले किन खुट्टा कमाएको ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रियताका मुद्दाहरुमा खुट्टा कमाएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभामा बोल्दै उहाँले सरकारको साझा कार्यक्रममा कालापानी–लिपुलेकलाई फिर्ता ल्याउने कुरा नगरि समस्याका रुपमा मात्र उल्लेख गरेको भन्दै आपत्ति जनाउनुभयो ।

संसदमा सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘साझा कार्यक्रममा कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछौं भन्न किन सक्नुभएन ? यसलाई कालापानी समस्या भनेर राख्नुभयो । के यो समस्या हो ? हाम्रो अभिन्न भू–भाग, पवित्र भू–भाग समस्या हुन्छ ? समस्या समाधान कसरी गर्ने त ? छोडिदियो भने त समाधान होला नि । स्पष्टरूपमा फिर्ता लिन्छौं भन्ने कि समस्या हो समाधान गर्छों भन्ने ? त्यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ?’

उहाँले कालापानी लिपुलेक र लिम्पुयाधुरा नेपालको पवित्र भू–भाग रहेको भन्दै त्यसलाई फिर्ता लिन सरकारसँग माग गर्नभयो । उहाँले भन्नुभयो,‘फिर्ता लिनुस् । छोड्ने अधिकार कसैलाई छैन । सक्नुभएन भने ढेढ वर्ष पर्खिनुस् । हामी आउछौं ।’

छिमेकीहरूसँग सीमा समस्या समाधान गर्ने भनेर साझा कार्यक्रममा उल्लेख गरिएको विषयमा पनि ओलीले प्रश्न उठाउनुभएको छ । उहाँले भन्नुभयो, ‘कुन–कुन देशसँग कहाँ–कहाँ के समस्या छ ? कति साह्रो डराएको ? जिब्रोबाट पनि रगत आइसक्यो होला चपाउँदा चपाउँदा ।’

Back to top button