लिफ्टमा चढेर खेलेको आरोपमा बालकमाथि कुटपिट

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ५ का १३ वर्षीय बालकमाथि लिफ्टमा चढेर खेलेको आरोपमा कुटपिट गरिएको छ ।

स्थानीय गायत्री कुञ्ज अतिथि सदनमा रहेको लिफ्टमा खेलेको भन्दै २ कर्मचारीले लिफ्ट बन्द गरी मरणासन्न हुने गरी कुटपिट गरेको स्थानीयवासीले बताएका छन ।

बालकलाई लिफ्टमा बन्द गरी कुटपिट गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सदन सञ्चालक अमरनाथ गुप्ताकै निर्देशनमा कुटपिट गरिएको बालकका बुवा सञ्जय ठाकुरलाई समेत ती कर्मचारीहरूले कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन ।

ती बालकलाई जोगाउँदै तत्कालै स्थानीय जानकी प्रहरी चौकीलाई जानकारी गराएका थिए ।

कुटपिट गर्ने होटेलका कर्मचारी ३३ वर्षीय रामपुकार ठाकुर र ३८ वर्षीय सुभाष कुमार साहलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

कुटपिटबाट घाइते भएको बालकको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

Back to top button