रानी नाकाबाट भारत आउजाउ खुला

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले दशगजा क्षेत्रस्थित जताजतैबाट भारततर्फ भइरहेको आवत–जावतमा रोक लगाएर विराटनगरस्थित रानी नाका बुधबारबाट व्यवस्थित रुपमा सञ्चालन गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले खुल्ला सीमानाको फाइदा उठाउँदै दशगजा क्षेत्रबाट जथाभावी भारततर्फ आउजाउ हुँदा अनेक बेथिति आइरहेकोले अन्य नाकाहरुमा पूर्ण रुपमा कडाई गरेर रानी नाका व्यवस्थित रुपमा सञ्चालन गर्ने व्यवस्था गरेको बताउनुभएको छ ।

‘रानी नाकामा हेल्थ डेस्क रहेकोले भारतबाट आउनेहरुलाई तीन किसिमको जाँच पनि गर्ने व्यवस्था छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले भारततर्फ जाने आउनेको व्यवस्थित रुपमा तथ्यांक राखेर दशगजा क्षेत्रबाट भारततर्फ भइरहेको आवत जावतमा रोक लगाएर रानी नाका सञ्चालनमा ल्याएको हौं ।’

विराटनगरलगायतका आसपासका बासिन्दाहरु सस्तोमा दैनिक उपभोग्य सामग्री खरिदका लागि पनि सीमावर्ती भारतीय बजार जोगबनी रानी नाकाबाट जान पाउने भएको छ । ‘भारतको जुनसुकै ठाउँ जानका लागि अब मूल नाका रानीबाट नै सबैलाई जाने व्यवस्था गरेका छौं,’ प्रजिअ निरौलाले भन्नुभयो, ‘त्यसैले लुकिछिपी अब कसैलाई पनि चोर बाटोबाट भारततर्फ जाने आउने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ ।’

कोरोना महामारीको सुरुवात भएपछि सरकारले नाकाहरु सिल गरेको डेढ वर्षमा रानी नाकाबाट सर्वसाधारणले खुल्ला रुपमा भारततर्फ आउजाउको सुबिधा प्राप्त गरेको हो । यसअघि कोरोना महामारी नियन्त्रणमा आएर स्थानीय प्रशासनले लकडाउन र निषेधाज्ञा खुकुलो बनाएपछि सर्वसाधारण बिभिन्न चोर नाकाबाट भारततर्फ आउन जान बाध्य थिए ।

Back to top button