वर्तमान सत्तारुढ गठबन्धनलाई चुनावसम्म कायम राख्ने प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओलीविरुद्ध बनेको वर्तमान सत्तारुढ गठबन्धनलाई कम्तिमा आउने तीनै तहका निर्वाचनसम्म कायम राख्ने प्रस्ताव अघि सारेको छ ।

आज काठमाडौंमा शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ओलीविरुद्धको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायीत्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्ने नीति रहने उल्लेख छ ।

प्रस्तावमा प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने योजना अघि सार्नुभएको छ । उहाँले ओलीबाहेकका कम्युनिस्टहरुको एकीकरण गर्ने समेत बताउनुभएको छ ।

८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्तावमा ओलीले प्रधानमन्त्री पदमा पुग्न र निरंकुश बन्नका लागि मात्र पार्टी एकता गरेको क्रमशः प्रष्ट हुँदै गएको भन्दै प्रचण्डले आफ्नो प्रस्तावमा पार्टी एकताको सैद्धान्तिक, राजनीतिक र वैधानिकताको मूल मर्ममाथि नै निरन्तर प्रहार गर्ने काम भएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रधानमन्त्रीबाट भएको असंवैधानिक कदमलाई आँखा चिम्लिएर समर्थन गरेको आरोप लगाउँदै प्रचण्डले दोस्रो पटक संसद विघटन भएपछि वाम लोकतान्त्रिक मोर्चा बनाएर अघि बढ्ने आफ्नो नीतिले वर्तमान सरकार बनेको उल्लेख गर्नुभएको छ ।

उहाँले एमसीसी सम्झौताका साथै लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई कूटनीतिक सम्वादका माध्यमबाट हल गर्न प्रयत्न गर्ने समेत प्रस्तावमा उल्लेख गर्नुभएको छ ।

Back to top button