नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म गर्ने प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्र को राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म गर्न प्रस्ताव गरिएको छ। आज सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो प्रस्ताव पेश गर्नुभएको हो ।

भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण तथा असोज १० गते देशैभर एकै दिन सेल र टोल भेला गरिने प्रस्ताव गरिएको छ।

त्यसपछि असोज २० गते वडा सम्मेलन, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलनको आयोजना गरिनेछ ।

बैठकमा अध्यक्ष प्रचण्डले अहिलेसम्मको राजानीतिक परिस्थितिबारे जानकारी गराएर विधान संशोधन प्रस्ताव र राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्नका लागि केन्द्रीय कमिटीका सदस्यलाई छलफलका लागि ८ समूहमा विभाजित गरिएको छ ।

सबै समूहबाट आएको रिपोर्ट अध्ययन गरेर बैठकले निर्णय लिनेछ । बैठक भोली ११ बजे फेरि बस्नेछ।

Back to top button