गण्डकीमा एमालेको छायाँ सरकार

पोखरा । सत्तारुढ गठबन्धन सरकारविरुद्ध साढे तीन वर्ष गण्डकी प्रदेश सरकारको नेतृत्व गरेको एमालेले छायाँ सरकार गठन गरेको छ । गण्डकी प्रदेश सरकारले बनाएको ११ वटा मन्त्रालयका लागि एमाले संसदीय दलको बैठकले ९ वटा समूह बनाएको हो ।

छायाँ सरकारले प्रदेश सरकारको प्रत्येक मन्त्रालयको गतिविधि निगरानी गर्दै गलत कामहरुको पर्दाफास गर्ने नीति लिएको छ । भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्रालयका गतिविधिको निगरानीका लागि पूर्व मन्त्री रामशरण बस्नेतको संयोजकत्वमा रोशन गाहामगर र प्रभा कोइरालासहित तीन सदस्यीय समूह गठन गरेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पूर्व मन्त्री विकास लम्सालको संयोजकत्वमा रामबहादुर गुरुङ र लक्ष्मी सुनारसहित तीन सदस्यीय टोलीलाई जिम्मेबारी तोकेको छ ।

सामाजिक विकास मन्त्रालयमा नरदेवी पुन मगरको नेतृत्वमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्टसहित तीन सदस्यीय समिति गठन गरी जिम्मेबारी दिएको छ । कानुन, सूचना सञ्चार, प्रदेश मामिला मन्त्रालयमा चन्द्र मोहन गौचन, अर्थ मन्त्रालयमा इन्द्रलाल सापकोटा, भूमि, व्यवस्था,कृषि मन्त्रालयमा मित्रकुमारी गुरुङलाई जिम्मेबारी तोकिएको छ ।

ऊर्जा, खानेपानी मन्त्रालयमा मीनप्रसाद गुरुङ, मुख्यमन्त्री तथा मन्त्रीपरिषदमा मोहन प्रसाद रेग्मी, स्वास्थ्य, जनसङ्ख्या, युवा तथा खेलकुदमा राजीव पहारीलाई निगरानीका लागि जिम्मेबारी तोकिएको एमाले संसदीय दलले जनाएको छ ।

Back to top button