विराटनगर विमानस्थलको मुआब्जा समयमै नपाएको स्थानीयको गुनासो, तत्काल मुआब्जा नदिए आन्दोलन गर्ने

विराटनगर। विराटनगर विमानस्थल विस्तारका लागि अधिग्रहण गरीएको जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीय आक्रोशित भएका छन ।

उनिहरुले जग्गाको मुआब्जा समयमै नपाउदा आर्थिक गतिविधिमा अबरोध भएको भन्दै कि तत्काल मुआब्जा दिनुपर्ने कि रोक्का गरिएको जग्गा फुकुवा गर्नुपर्ने बताएका छन । उनिहरुले चाडो मुआब्जाको रकम नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन । २०७७ चैत मा १४ सय कित्ता जमिन अधिग्रहणका लागि रोक्का गरिएको छ ।

विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षका कार्यक्रम घोषणा गर्ने भएको जनाएको छ । संघर्ष समितिका संयोजक वेदराज पौडेलले विमानस्थल वरपर बसोबास गरेका ३ सय ५० घर परिवार मर्कामा परेकोले निकासका लागि आन्दोलन गर्न बाध्य हुने अबस्था आएको बताउनुभयो ।

संयोजक पौडेलले जग्गा रोक्का गरेको डेढ बर्ष हुँदा पनि मुआब्जा नपाएकोले तत्काल जिल्ला प्रशासन कार्यालय र नागरिक उडड्यन प्राधिकरणले मुआब्जाको प्रक्रिया सुरु नगरे अदालतमा उजुरी गर्ने बताउनुभयो ।

विमानस्थल पीडित संघर्ष समितिका सदस्य उद्धव कार्कीले व्यवहार चलाउन कतिपयले बैंकमा जमिन राखेर ऋण लिन नपाएको, कतिले अंशबण्डा गर्न नपाएको र कतिले बिक्री गरेर अन्यत्र जान नपाएकाले संघर्षको विकल्प नभएको बताउनुभयो ।

विमानस्थलले १२६ विगा जमिन अधिग्रहण गर्दा आवास क्षेत्रमा सबैभन्दा बढी समस्याहरु रहेको उनिहरुको भनाई छ ।

नागरिक उडड्यन प्राधिकरण विरानगर विमानस्थल कार्यालय प्रमुख उत्सव खरेलले सरकारले बजेट नछुट्याउदा काम अघि बढ्न नसकेको बताउनुभयो ।

संघिय सरकारले बजेट नछुट्याएको कारण मुआब्जाको काम हुन नसकेको तर अब लामो समय जमिन रोक्का हुदा स्थानीयलाई मर्का पर्ने भएकाले त्यसमा अंशबण्डा गर्न दिन निर्णय भएको बताउदै उहाँले तर बैंकमा धितो राखेर ऋण लिन भने नपाउने गरि निर्णय भएको जानकारी दिनुभयो ।

तर स्थानियले बैंकमा जग्गा धितो राख्न खुला गरिनु पर्ने माग गरिरहेका छन ।

Back to top button