अफगानिस्तानको संकटबारे आज राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा छलफल हुने

काठमाडौं । अफगानिस्तानको सत्ता तालिवान विद्रोहीले हातमा लिएपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ ।

अगस्ट महीनाका लागि अध्यक्षता प्राप्त गरेकोले  भारतले बैठकको अध्यक्षता गर्ने भएको छ । बैठकमा अफगानिस्तानको पछिल्लो संकटमाथि समीक्षा हुने जनाइएको छ ।

अफगानिस्तानमा नयाँ सरकार गठन गर्ने तयारी गरिरहेको तालिवानलाई अन्तर्राष्ट्रिय मान्यता दिने वा नदिने भन्ने बहस भैरहेको बेला बस्न लागेको परिषद्को बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बेलायतले तालिवान सरकारलाई मान्यता दिन नसकिने बताइसकेको छ ।

सुरक्षा परिषद्को अर्को सदस्य मुलुक चीन भने अफगानिस्तान मामिलामा अहिले मौनजस्तै छ । गत महीना तालिवान नेताहरुलाई स्वागत गरेको चीनको अहिलेको मौनतालाई पनि अर्थपूर्ण हेरिएको छ ।

Back to top button