झापामा सवारी दुर्घटनामा उल्लेख्य वृद्धि

विराटनगर । झापामा गत वर्ष कोरोना महामारीका बीच सवारी दुर्घटनाको संख्यामा उल्लेख्य वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार विगत वर्षभन्दा गत वर्ष तीन सय प्रतिशत बढी सवारी दुर्घटना भएको जनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएकोमा आव २०७७/७८ मा ६५७ सवारी दुर्घटना भएको प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताउनुभयो । दुर्घटनामा विगत वर्ष ६२ जनाको मृत्यु र २६७ जना घाइते भएका थिए भने गत आवमा ९३ जनाको मृत्यु र १ हजार ६५ जना घाइते भएको खड्काले बताउनुभयो ।

ट्राफिक प्रहरीले ट्राफिक नियम उलंघन गर्ने ५३ हजार १ सय सवारीलाई कारबाही गरी गत आवमा ३ करोड ६९ लाख ५३ हजार ५ सय राजश्व सङ्कलन गरेको छ ।

Back to top button