आजदेखि झापामा निषेधाज्ञा खुकुलो

विर्तामोड । झापामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि खुकुलो बनाउने निर्णय गरेको हो ।

अब बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने पाइने भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जारी गर्नुभएको आदेश अनुशार अत्यधिक भीडभाड हुने खाद्यान्न, तरकारी, माछामासुलगायत अत्यावश्यक उपभोग्य वस्तुको पसल बिहान ६ देखि बिहान १० बजेसम्म मात्र खोल्न दिइने छ ।

यातायातका साधन दिनभर खुला गरिने छ तर सवारी साधनलाई सिट क्षमताभन्दा बढी यात्रु बोक्न रोक लगाइएको छ । बैंक तथा वित्तीय संस्था टोकन प्रणाली र सरकारी कार्यालय आलोपालो प्रणालीका आधारमा सञ्चालन गरिने भएको छ। हाटबजार, भेला, जुलुसजस्ता भीडभाड हुने कार्यक्रम गर्न प्रशासनले निषेध गरेको छ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै होटल तथा लजलाई क्षमता भन्दा आधा सेवाग्राहीलाइ सेवा दिन छुट दिइएको छ । झापामा कोभिड संक्रमण तिब्रतर बढेपछि पूर्ण निषेधाज्ञा आदेश जारी हुँदै आएको थियो ।

Back to top button