कोरोना महामारीका बीच दुर्घटनामा तेब्बर वृद्धि

विराटनगर । कोरोना महामारीका बीच गत आर्थिक वर्ष २०७७/७८ मा आव ०७६/७७ भन्दा तीन सय प्रतिशत बढी सवारी दुर्घटना बढेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्यांक अनुसार आव ०७६/७७ मा ४८७ सवारी दुर्घटना भएकोमा आव ०७७/७८ मा १ हजार ४२० सवारी दुर्घटना भएको छ । आव ०७५/७६ मा ४८४ सवारी दुर्घटना भएको थियो ।

सवारी दुर्घटनाको संख्यामा उल्लेख्य वृद्धि भए पनि दुर्घटनामा मृत्यु र घाइते हुनेको संख्या अत्यन्तै घटेको छ । आव ०७५/७६ मा १०५ जनाको मृत्यु, गम्भीर घाइते २५२ र सामान्य घाइते ६०२ जना भएका थिए । आव ०७६/७७ मा ८९ जनाको मृत्यु, २०७ र सामान्य घाइते ५२३ जना भएका थिए । गत आवमा २१ जनाको मृत्यु , गम्भीर घाइते ५७ र सामान्य घाइते ३२० जना भएको जिल्ला ट्राफिक प्रहरी मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खडकाले बताउनुभयो ।

कोरोनो महामारी नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गतेदेखि मुलुक लकडाउन गरेको थियो । लकडाउन अवधिभन्दा अगाडि भएको दुर्घटना र त्यसपछिको दुर्घटनाको तथ्यांकले महामारीले पनि सवारी दुर्घटनालाई रोक्न नसकेको देखिन्छ ।

तीन तहको सरकार गठन भएपछि सहरदेखि गाउँ–गाउँ र टोल–टोलसम्म सडक सञ्जाल निर्माण भएको र त्यही अनुसारको सवारी साधनको संख्या पनि बढेकोले सवारी दुर्घटनाको संख्यामा उल्लेख्य वृद्धि भएको प्रहरी निरीक्ष्ँक खड्काले बताउनुभयो ।

‘लकडाउन अवधीमा ठूला सवारी साधन नचलेको कारण सडक खुल्ला भएको बेला तिब्र गतिमा सवारी गुडाउँदा अनियन्त्रित भएर दुर्घटना अधिक भएको छ,’ उहाँले भन्नुभयो, ‘तिब्र गतिमा सवारी गुडाउँदा आफै अनियन्त्रित भएर अधिक दुर्घटना भएको तर अन्य सवारीमा ठोकिएर कम दुर्घटना भएकाले दुर्घटनामा मृत्यु र घाइतेको संख्या कम भएको छ ।’

सामान्य दुर्घटनाको पनि तथ्यांक राखिएकोले गत वर्ष दुर्घटनाको संख्या बढी देखिएको खडकाले बताउनुभयो । विगत वर्षहरुमा सामान्य दुर्घटनाको तथ्यांक राखिदैन थियो ।

टोल, गाउँ र सहरसम्म सडक बिस्तार भएकाले त्यहीँ अनुसारको सवारीको चाप पनि बढेको अवस्थामा ट्राफिक प्रहरीको सक्रियता पनि बढाउनै पर्ने बाध्यात्मक अवस्था रहेको उहाँले बताउनुभयो । नियमित चेक जाँच, दुर्घटना जोखिम न्यूनीकरणका लागि जनचेतना मूलक कार्यक्रमलगायतका योजना बनाएर कार्यान्वयनमा ल्गाउने तयारी गरेको खड्काको भनाई थियो ।

मोरङ ट्राफिक प्रहरीले गत वर्ष विगत वर्षभन्दा राजश्व पनि बढी असुली गरेको छ । गत आवमा जिल्लाभरि ट्राफिक नियम उलंघन गरेका ७० हजार १२९ सवारी साधनलाई कारबाही गरी ४ करोड २० लाख ६३ हजार राजश्व असुली गरेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । आव ०७६/७७ मा ५४ हजार २०९ सवारी साधनलाई कारबाही गरेर ३ करोड १९ लाख ९५ हजार ५ सय राजश्व असुली गरेको थियो ।

Back to top button