दल बिभाजन अध्यादेशको बिरोध र पार्टी एकताको पक्षमा लाग्न भीम आचार्यको आग्रह

विराटनगर । नेकपा एमालेका नेता भीम आचार्यले सरकारले ल्याएको दल बिभाजन सम्बन्धी अध्यादेशको विरोध गर्न र पार्टीको एकताको पक्षमा दृढता पूर्वक लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा मार्फत पार्टी बिभाजनले न्याय प्रेमी जनतालाई दुखित र प्रतिक्रियावादीहरुलाई खुशी पार्ने भएकोले सबैलाई एक ढिक्का भएर पार्टी एकता जोगाउन लाग्न आग्रह गर्नुभएको हो ।

‘नेता तथा सांसदहरुलाई पार्टी बिभाजन गर्ने गरि गरेको सबै हस्ताक्षर र बिभाजन रोक्न भनी गरिएको कारबाही पार्टी नेतृत्वलाई फित्र्ता लिन अपिल गर्दछु,’ उहाँले लेख्नु हुन्छ, ‘लोकतन्त्र, संविधान र स्थायित्वलाई कमजोर पार्ने सबै खाले प्रक्रियावादीहरुको उक्साहट र सहयोगमा ल्याइएको अध्यादेश असंवैधानिक र प्रतिगामी भएकोले तुरुन्त फिर्ता गरिनु पर्दछ ।’

संसद र संविधान बचाउन बनेको प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकार एडीचोटीको बल लगाएर एमाले बिभाजन गर्न लाग्नु र त्यसका लागि पार्टी बिभाजनकारी अध्यादेश ल्याउनु दुरभाग्यपूर्ण कार्य भएको उहाँले लेख्नुभएको छ ।

‘नेकपा एमालेको बिभाजनले लोकतन्त्र, गणतन्त्र र क्रान्तिका उपलब्धीहरुलाई कमजोर पार्नुका साथै अग्रमनको यात्रामा गम्भीर धक्का लाग्छ,’ आचार्य लेख्नुहुन्छ, ‘प्रतिनिधिसभा विघटन विरोधी अभियान संसद, संविधान र लोकतान्त्रिक प्रक्रिया बिभाजनका लागि भएको पार्टी बिभाजनका लागि होइन त्यसैले सबैलाई सतर्कता र सजगता अपनाउनु आवश्यक छ ।’

Back to top button