महन्थ ठाकुरको नेतृत्वमा जसपा लोकतान्त्रिक पार्टी दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि सर्वोच्चको अदालतको निर्णय कुरिरहेको महन्थ ठाकुर पक्षले आज निर्वाचन आयोगमा दल दर्ताकोलागि निवेदन दिएको छ ।

महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी गठनका लागि आयोगमा निवेदन दर्ता गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपाको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि आयोग पुगेको हो ।

सो पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहनुभएको छ भने राजेन्द्र महतो वरिष्ट नेता रहनुभएको छ । यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ ।

२४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने वरिष्ठ नेता महतोले जानकारी दिनुभयो । आफूहरुको पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ जना सांसद रहेको महतोले बताउनुभएको छ । पार्टीको चुनाव चिन्ह साइकल कायम गरिएको छ।

दर्ताका लागि निवेदन दिएपछि निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महतोले पार्टीलाई सशक्त ढंगले अघि बढाइने बताउनुभयो ।

Back to top button