प्रदेश १ मा सक्रिय संक्रमित घट्दै

डिएन पथिक
विराटनगर । प्रदेश १ मा १५ दिनमा २ हजार ५ सय ८० संक्रमित घटेको छ । साउन १७ गते प्रदेशभरिमा सक्रिय संक्रमितको संख्या ७ हजार ८६२ रहेको थियो तर साउन ३२ गतेसम्ममा आइपुग्दा सक्रिय संक्रमितको संख्या घटेर ६ हजार २८२ रहेको छ ।

यस प्रदेशमा साउन १७ गते २ हजार ३३७ जनाको कोरोना परीक्षण गर्दा ३१ प्रतिशत अर्थात् ७२५ जनामा संक्रमण पुष्टि भएको थियो । साउन ३२ गते भने २ हजार ३९६ जनामा परीक्षण गर्दा २८ दशमलव ८८ प्रतिशत अर्थात् ६९२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उक्त तथ्यांक अनुसार यस प्रदेशमा पछिल्लो समय संक्रमण दर र सक्रिय संक्रमितको संख्यामा कमी आएको छ ।

झापामा २ हजार ७२०, मोरङमा १ हजार ९१८, सुनसरीमा १ हजार ११७, धनकुटामा १९६, भोजपुरमा १७, इलाममा ६५, उदयपुरमा ५४, सोलुखुम्बु १, संखुवासभामा २०, तेह्रथुममा ७, खोटाङमा ८, ताप्लेजुङमा ५, पा“चथरमा ४३, ओखलढुंगामा १ र प्रदेश १ बाहिरका ११० जना गरी यस प्रदेशमा कूल सक्रीय संक्रमितको संख्या ६ हजार २८२ रहेको मन्त्रालयका प्रवक्ता सदानन्द भट्टराईले बताउनुभयो ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलगायतका यस प्रदेशस्थित सामुदायिक तथा निजी गरी ३१ वटा अस्पतालहरुमा रहेको १५८ भेण्टिलेटरमध्ये ५३, १४० आइसियूमध्ये ८४, ६०० एचडियूमध्ये २५६, ६४२ समान्य शय्यामा १४४ जना संक्रमित उपचार गराइरहेको उहाँले बताउनुभयो । संक्रमितमध्ये २२४ जना बिभिन्न आइसोलेसन केन्द्रमा र ५ हजार ४६९ जना होम आइसोलेसनमा रहेको उहाँले बताउनुभयो ।

साउन १७ गतेसम्म एक सातामा ३२ महिला र ४१ पुरुष गरी कूल ७३ जनाको मृत्यु भएको थियो भने पछिल्लो एक सातामा ३६ महिला र ४४ पुरुष गरी कूल ८० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका १५ भेण्टिलेटर, ६ आइसियू, ४७ एचडियु र २८ सामान्य शय्यामध्ये भेण्टिलेटर, आइसियू र एचडियू पूर्ण रुपमा भरिएर सामान्य शय्यामा १५ जनासहित कूल ८३ संक्रमित उपचाररत छन् ।

कोशी अस्पतालको ७२ शय्यामा ३३, मेची प्रादेशिक अस्पताल झापको १११ शय्यामा ५७, बुढीगंगास्थित विराट मेडिकल अस्पतालको १६२ शय्यामा ३१, विराटनगरस्थित नोवेल मेडिकल अस्पतालको १९७ शय्यामा १२, झापाको बी एण्ड सी अस्पतालको १ सय शय्यामा २८ जना संक्रमित उपचाररत छन् ।

कोभिड १९ उपचार केन्द्रका संयोजक वैजनाथ साहले दैनिक १० देखि १५ जना कोरोना संक्रमित भर्नाका लागि आउने गरेको बताए । उनले पछिल्लो समय संक्रमण दर घटेपछिउपचारका लागि आउने बिरामीको चापमा कमी नभएको बताउनुभयो ।

निजी अस्पतालहरुमा संक्रमित बिरामीहरुले आफै उपचार शुल्क तिर्नुपर्ने भएकाले सरकारी अस्पतालमा संक्रमित बिरामीको चाप बढेको छ । सरकारी अस्पतालहरु भरिँदै गएकाले निजी अस्पतालमा पनि संक्रमित बिरामी भर्ना हुने क्रम बढ्दै गएको सामाजिक विकास मन्त्रालयका प्रवक्त भट्टराईले बताउनुभयो ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय तहहरुलाई नै अवस्था हेरेर लकडाउन गर्ने अधिकार दिएकोले संक्रमण दर उच्च भएका स्थानीय तहहरुले लकडाउन गरेकाले संक्रमण दरमा कमी आएको उहाँको भनाई थियो । पछिल्लो समय मास्क अभियान पनि चलिरहेको छ ।

संक्रमण दर केही कम भए पनि कोरोनाको जोखिम अत्यधिक रहेको र अहिलेको कोरोना संक्रमणले चाँडै छातिमा समस्या हुने गरेकोले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन कसैले पनि कुनै कन्जुस्याँई गर्न नहुने कोशी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले बताउनुभयो ।

Back to top button