अफगानिस्तानका राष्ट्रपति घानी युएईमा, स्वदेश फिर्ताका लागि छलफल भइरहेको दावी

काठमाडौं । तालिबानी बिद्रोहीले अफगानिस्तानको राजधानी काबुल प्रवेश गर्न लागेपछि देश छाडेका राष्ट्रपति असरफ घानी संयुक्त अरब इमिरेट्स (युएई)मा शरण लिनुभएको छ । मानवीय दृष्टिकोणले घानी र उहाँको परिवारका सदस्यलाई आफ्नो देशमा स्वागत गरेको युएईका परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ ।

तालिबानी बिद्रोही काबुल प्रवेश गरेपछि अफगानी जनताको जीवन रक्षाका लागि र रक्तपात हुन नदिन देश छाडेको बताउँदै आएका घानीले गत आइतबार सुरुमा ताजिकिस्तान र पछि उज्वेकिस्तान गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको थियो जुन सत्य सावित भएन ।

उहाँले देश छोड्ने क्रममा ठूलो रकम लिएर भागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुमा आएको समाचारको खण्डन गर्नुभएको छ । ताजकिस्तानका अफगानिस्तानी राजदूत मोहम्मद जहीर अगबरले घानीले देश छोड्ने बेला करिब १६ दशमलव ९ करोड डलर रकम पनि सँगै लिएर गएको वक्तव्य दिनुभएको थियो ।

भारतीय सञ्चारमाध्यमहरुले घानीले बोरामा रकम भरेर लगेको र लग्न नसकेको रकम निवासमै छोडेको लगायतका भ्रामक समाचार सम्प्रेशन गरेको प्रति घानीले दुःख व्यक्त गर्दै यी यस्ता समाचारमा कुनै सत्यता नभएको स्पष्टीकरण दिनुभएको छ ।

घानीले स्वदेश फिर्ताका लागि छलफल भइरहेको दावी गर्नुभएको छ ।

Back to top button