प्रदेश १ मा एमाले बिभाजनको प्रभाव : नेतृत्व परिवर्तन गरेर एमाले नेतृत्वकै सरकार

विराटनगर । नेकपा एमाले बिभाजनको प्रभाव प्रदेश १ मा पनि परेको छ । मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार परिवर्तन गरेर भएपनि एमाले नेतृत्वकै सरकार कायम राख्न सत्ता पक्ष कसिएका छन् । राई नेतृत्वको सरकार परिवर्तन हुने निश्चित भएपछि अंक गणितीय खेल सुरु भएको हो ।

नेकपा एमाले र एमाले समाजवादी, कांग्रेस, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गठबन्धन दुबैले नयाँ सरकार गठनका लागि आ–आफ्ना दावी प्रस्तुत गर्न थालेका छन् । ९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १÷१ जना सांसद छन् ।

एमालेका ५१ सांसदमध्ये अहिले एमाले समाजवादीतर्फ ८ जना सांसद देखिएका छन् भने एमालेमा ३६, तटस्थ ६ र एक जना प्रदेश सांसद गुलेफुन खातुन किर्ते कागजात मुज्ञामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि फरार हुनुभएको छ ।

समाजवादीमा प्रदेश सांसदहरु राजेन्द्रकुमार राई, राजन राई, सुनिताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ्ग, होमकुमारी साँवा र उपेन्द्रप्रसाद घिमिरे देखिनुभएको हो । जसमध्ये चौधरी, थापा, कृष्णकुमारी र घिमिरे भीम आचार्य निकटका हुनुहुन्छ भने होमकुमारी योगेश भट्टराई निकटका हुनुहुन्छ । आचार्य र भट्टराई एमालेमै रहनुभएकोले उहाँहरु पनि अन्ततोगत्वा एमालेमै फर्किने बिशलेषण भइरहेको छ ।

एमालेका ६ जना सांसद सावित्रीकुमारी रेग्मी, लिलाबल्लभ अधिकारी, यसोदा अधिकारी, बलबहादुर साम्सोहाङ, जीवन घिमिरे र पदमकुमारी गुरुङ तटस्थ देखिनुभएको छ । लिलाबल्लभ, यशोदा र पदमकुमारी भीम आचार्य निकट, साम्सोहाङ योगेश भट्टराई निकटका हुन् भने जीवन घिमिरे माधवकुमार नेपालको साथ छोडिसक्नु भएको छ भने रेग्मी पनि समय हेरेर निर्णय लिने बताउनुभएको छ।

प्रदेश सरकार गठनका लागि ४६ जना सांसद आवश्यक हुन्छ । जसका लागि एमाले समाजवादीका ८ जना सांसद गठबन्धनको सरकार बनाउन प्रयाप्त हुन्छ । कांग्रेस, माओवादी केन्द्र, एमाले समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गरी गठबन्धनमा ४८ जना प्रदेश सांसद अहिले देखिन्छन् । तर यो संख्या कायम राख्न गठबन्धनका लागि चुनौतिपूर्ण छ ।

एमाले समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्रकुमार राईले अहिले ८ जना प्रदेश सांसद खुलिसकेको तर न्यूनतम १२ जना सांसद आफूहरुसँग रहने दावी गर्नुभएको छ । ‘प्रदेश सांसद तथा एमालेका सचिव भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री दिने हो भने उहाँको पनि टिम हामीसँगै आउने संभावना छ,’ उहाँले भन्नुभयो, ‘आचार्यलगायतका नेता तथा प्रदेश सांसदहरुसँग छलफल भइरहेको छ ।’ जीवन घिमिरे पनि आफूहरुसँग नै बस्ने राईको दावी छ । भीम आचार्यको टीम आएको अवस्थामा प्रदेशसभामा आफूहरुसँग १८ जना सांसद रहने उहाँको दावी छ ।

तटस्थ बस्नुभएकामध्ये सावित्रीकुमारी रेग्मी एमाले समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीकी पत्नी हुन् त्यसैले एमालेले उनलाई शंकाको घेरामा राखेको छ । एमालेमा रहेकी खिनु लङ्बा लिम्बू भने झलनाथ खनाल निकटका प्रदेश सांसद हुन् । उहाँ दुबै जना समाजवादी आउने नेताहरुको आंकलन छ ।

राईले निर्वाचन आयोगमा सनाखत भएको भोली पल्टबाट प्रदेश सरकार बनाउने प्रक्रिया सुरु गर्ने बताउनुभयो । उहाँले कसको नेतृत्व्मा सरकार बन्ने विषयमा छलफलपछि मात्रै टुंगिने बताउनुभयो । तर राईले दावी गर्नुभएको जस्तो अवस्था सहज भने छैन । प्रदेश सरकारले जसरी पनि एमाले नेतृत्वको सरकार कायम राख्न आन्तरिक छलफलमा जुटेको छ । एमाले समाजवादीमा धेरैमा दुई जनासम्म मात्रै प्रदेश सांसद रहने र बाँकी सबै सांसद एमालेमा फर्किने गरी तयारी गरेको सरकार पक्षको दावी छ ।

प्र्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशसभामा जसरी पनि बहुमत कायम राख्ने बताउनुभयो । अहिले एमाले समाजवादीमा खुलेका लगायतका प्रदेश सांसदहरुसँग छलफल भइरहेको र अबको १÷२ दिनमा सबैको कित्ता प्रष्ट भएपछि बहुमतका साथ सरकारको नेतृत्व परिवर्तन हुने उहाँले बताउनुभयो ।

‘मुख्यमन्त्री शेरधन राईले पार्टीलाई आवश्यक परेको बेला मुख्यमन्त्री छोड्ने घोषणा गरिसक्नु भएकोले बहुमत कायम राखेर प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने तयारी छ,’ मन्त्री कार्कीले भन्नुभयो, ‘बहुमत कायम रहने निश्चित भएपछि भीम आचार्य वा एमालेकै अन्य प्रदेश सांसदको नेतृत्वमा सरकारको नेतृत्व परिवर्तन हुन्छ ।’

Back to top button