उद्योगी व्यवसायीले आफ्नो व्यवस्थापकीय क्षमतालाई अभिवृद्धि गर्नुपर्ने

विराटनगर । कोरोनाको महामारीका कारण उद्योग/व्यवसाय संकटमा परिरहेको सन्दर्भमा उद्योग/प्रतिष्ठानका संचालक र ब्यवस्थापकहरुको व्यवस्थापकीय क्षमता अभिबृद्धि गर्ने उध्येश्यले उद्योग संगठन मोरङले संकटको समयमा व्यापारको पुनःरणनीतिकरण विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विश्वव्यापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै क्षेत्रलाई निराश तुल्याएको समयमा उद्योगी व्यवसायीले आफनो व्यवस्थापकीय क्षमतालाई अभिवृद्धि गर्दै दीर्घकालिन रणनीति तर्जुमा गर्नुपर्ने धारणा राख्नुभयो।

उहाँले संगठनले बर्तमान समयमा भएको समस्यालाई मध्यनजर गर्दै आयोजना गरीएकोको यो कार्यक्रमले उद्योगी व्यवसायीहरुलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

संगठनका कार्यसमिति सदस्य सौरभ सारडाले आर्थिक विकासका शुत्रधारका रुपमा रहेका उद्योगीहरुले वर्तमान समयमा सामना गर्नुपरिरहेको आन्तरिक र वाह्रय चूनौतिलाई यस कार्यक्रमले उद्योगीहरुलाई आगामी दिनमा आफनो कार्यदिशा, योजना र रणनीति विकासमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रमको समन्वयकर्ता संस्था फेक्ट नेपालका कार्यकारी निर्देशक मनिष झाले कोरोना महामारीले विश्वविख्यात मल्टिनेशनल कम्पनीहरुलाई समेत आफनो व्यवसायीक रणनीतिलाई पुन समिक्षा गर्न वाध्य वनाएको उदाहरण प्रस्तुत गर्दै उद्योगीहरुले अवका दिनमा एक व्यवसायीक योजनामा मात्र सिमित नभई अन्य विकल्पलाई समेत आत्मसात गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे, नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरका अध्यक्ष युनेशराज श्रेष्ठले उद्योगीहरुलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले सबैलाई आगामी कार्यदिशा तय गर्न उर्जा प्राप्त भएको बताउनुभयो ।

Back to top button